बुद्ध जन्मस्थल लुम्बिनीमा वैशाख दोस्रो साता आयोजना हुने २५६२ औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा १५ मुलुकका संस्कृति एवं धार्मिक मामिलामन्त्री सहभागी हुने बताईएको छ ।
उनीहरूलाई सहभागी गराउने सरकारले तयारीसमेत गरेको छ।
बुद्ध जयन्ती तथा सम्मेलनबारे जानकारी दिन हिजो सोमबार लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीले भारत, जापान, लाओस, म्यान्मार, थाइल्यान्ड, चीन, कम्बोडिया, भियतनाम, मंगोलिया, भुटान, दक्षिण कोरिया, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तानका संस्कृति एवं धार्मिक मामिलामन्त्रीलाई सहभागी गराउने पहल भइरहेको बताउनुभयो।
यसैगरी सम्मेलनमा अस्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, मंगोलिया, म्यान्मार, रसिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, थाइल्यान्ड, बेलायत र अमेरिका गरी २३ राष्ट्रका राष्ट्रियस्तरका बौद्ध संघसंस्थालाई पनि सहभागी गराउने तयारी भएको उहाँले जनाउनुभयो। ‘यसका लागि परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाइसकिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, कति मुलुकबाट मन्त्री र राष्ट्रियस्तरका बौद्ध संघसंस्था सहभागी हुन्छन् भन्नेबारे एकिन भइसकेको छैन।’
संघका अनुसार ‘लुम्बिनी नेपाल : बुद्धको जन्मस्थल र विश्व शान्ति र बौद्ध दर्शनको मुहान’ भन्ने नारालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन वैशाख १५ र १६ गते बुद्ध जयन्ती तथा सम्मेलन हुने भएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५ २०:३८