धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको हितका लागि राजा आवश्यक भएको बताएका छन ।
कार्यकर्ता प्रशिक्षणको क्रममा गृहजिल्ला धादिङ पुगेका तामाङले आज स्थानिय पत्रकारसँग भेटघाट गर्दै राष्ट्रिय अखण्डता र एकताको लागि भनेपनि राजा आवश्यक रहेको बताए ।
उनले भने, ‘बेलायत, जापानजस्ता विकससित मुलुकमा पनि राष्ट्रिय एकताकै लागि सांस्कृतिक राजा छन, उनीहरुको काम कर्तव्य केही छैन, हामीले पनि नेपालको हितको लागि त्यस्तै राजा हुनुपर्छ भनेका हौं।’
तामाङले विश्वमै पहिचानको लागि मात्रै पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिए । राष्ट्रको कुनैपनि धर्म र जात नहुने भएपनि राष्ट्रिय पहिचानको लागि मात्रै भनेपनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘इसाई, मुस्लिम देश थुपै छन,विश्वमा एउटा मात्रै देश हो जहाँ ८० प्रतिशत भन्दामाथि हिन्दु जनता छन, ९५ प्रतिशत ओमकार परिवार जनता छन ।’
वर्तमान प्रदेशको संरचना खारेज गरेर स्थानीय तहलाइ अझै अधिकार सम्पन्न बनाउनु पर्ने उनले बताए । उनले भने, ‘अहिलेको प्रदेश सरकारको संरचना आवश्यक छैन । यो खारेज गरेर अहिलेको स्थानीय तहलाइ अझै शक्तिशाली बनाउनुपर्छ।’