काठमाडौं । सगरमाथा आधारशिविरदेखि थुक्लासम्म फैलिएको खुम्बु ग्लेसियर (हिमखाडल) बर्सेनि बढ्दै गएको छ ।
७ हजार ६ सय मिटर लामो ग्लेसियर गहिरिने र भत्किने क्रम झनै बढेको हो । यसले सगरमाथा आधारशिविर जाने बाटो विगतको तुलनामा थप जोखिमयुक्त बन्दै गएको छ ।
ग्लेसियरबाट बग्दै आएको खोला गहिरिएपछि थुक्ला आसपासका पुरानो बाटो र अस्थायी पुल सबै बगिसकेका छन् । यात्रुहरू गोरक्सेप पुग्नुअघि ग्लेसियरले तानेको पहिरो छिचोलेर जानुपर्ने बाध्यता छ ।
‘तलबाट ग्लेसियरको पानी बगिरहेको छ । माथिको ढुंगा टेकेर हिँड्नुपर्ने अवस्था छ,’ एक पथ प्रदर्शक लाक्पा लामाले भने, ‘जोखिम यस्तो छ कि पहिरो वा सानोतिनो भूकम्पमात्र गए पनि बाँच्ने अवस्था छैन।’
ग्लेसियरको चौडाइ बढ्दै गएपछि तीन वर्षअघि गोरक्सेपमा निर्माण गरिएको हेलिप्याड पहिराले लगिसकेको छ । अर्को हेलिप्याड निर्माण गरे पनि ग्लेसियरको पहिरो बस्तीको २० मिटर नजिक आइपुगिसकेको छ ।
‘गोरक्सेप, लोबुचे, थुक्ला तीनैवटा बस्ती जोखिममा छन्,’ स्थानीय पासाङ शेर्पाले भने, ‘त्योभन्दा तलका बस्तीलाई पनि बिस्तारै असर पुर्याउने स्थिति छ ।’
ग्लेसियरको आकार र गहिराइसँगै लम्बाइ पनि बढ्दै जानुको प्रमुख कारण हिउँ पग्लिने क्रम बढेको शेर्पा तथा आरोहीको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।