काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आयोजक भई नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक हुने विषय देशका लागि गम्भीर रहेको जनाएको छ ।
कांग्रेस प्रवक्ता शर्मा
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार यहाँ आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहआयोजक भई कार्यक्रम गर्नुपर्ने गरी कमजोर हुनु दुःखद् रहेको बताएका छन् ।
आगामी मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुने एशिया प्यासिफिक सम्मेलनको निमन्त्रणा कार्डमा युनिभर्सल पीस फेडेरेसनअन्तर्गत सरकार र संसद् सहआयोजक रहेको उल्लेख छ ।
फेडेरेसनको लोगोमुनि नेपाल सरकार र सङ्घीय संसद्को लोगो राखिएको छ । सरकार र संसद्को लोगोसँगै आइक्यापको लोगो पनि छ । निमन्त्रणा समितिको अध्यक्षमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लेखिएको छ ।
‘बलात्कार र हत्या हुँदा नभेटिने सरकार अाइएनजिअाेमा भेटियाे’
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महीनासम्म दोषी पत्ता लगाउन नसक्ने, दोषीलाई कानूनी कारवाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका पिताको मानसिक अवस्था बिग्रँदा नभेटिने सरकार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको निमन्त्रणा कार्डमा सहआयोजकका रुपमा भेटिएको बताए ।
सुनसरीका फिदा हुसेन र कपिलवस्तुमा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार दीपेन्द्र चौधरीको हत्या हुँदा नभेटिने सरकार यस्तो अवस्थामा फेला पर्नु राष्ट्रका लागि सुखद् नरहेको काङ्ग्रेसले जनाएको छ । नेपालमा हुने जुनसुकै सम्मेलनको पार्टीले स्वागत गर्ने भए पनि सरकार अन्तर्राष्ट्रिय गैससको सहआयोजक हुनु लज्जाको विषय रहेको उनकाे भनाइ थियाे ।
विश्व तापमान, जलवायु परिवर्तनलगायत विषयमा छलफल हुनु स्वागतयोग्य भए पनि धर्मप्रचारका लागि हुने कार्यक्रमको सरकार सहआयोजक हुनु सामान्य नभई गम्भीर आपत्तिको विषय भएकाले यसलाई सच्याउन काङ्ग्रेसले जोडदार माग गरेको छ ।
“संविधानमा धर्मनिरपेक्ष लेखिएकाले कुनै धर्म विशेषको प्रचार गर्न आयोजना गरिएको कार्यक्रमको सहआयोजक सरकार बस्नु असंवैधानिक हो, संसारमा अन्तर्राष्ट्रिय गैसस सरकारअन्तर्गत हुन्छ, नेपालमा अन्तर्राष्ट्रिय गैससको मुनि सरकार बस्नु देशका लागि सुखद् छैन, सरकार यति कमजोर र दुब्लो भइसक्यो, यो प्रत्येक नेपालीले उठाउनुपर्ने विषय हो”, प्रवक्ता शर्माले भने ।
काङ्ग्रेस पार्टीले संस्थागतरुपमा यस्ता कार्यक्रममा सहभागिता नजनाउने जनाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने केन्द्रीय समितिको बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको पनि प्रवक्ता शर्माले जानकारी दिए ।
केहाे युपीएफ ?
युपीएफ अर्थात् युनिभर्सल पिस फेडेरेसन एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हाे । यसले सतहमा शान्ति, द्वन्द्व व्यवस्थापन, पारिवारिक मेलमिलाप जस्ता विषयकाे वकालत गर्ने देखिए पनि मुख्य ध्येय भने नेपाल लगायत विश्वका विभिन्न देशमा इसाइ धर्म प्रचार गर्नु रहेकाे बुझिएकाे छ ।
फादर मुन
एक काेरियाली नागरिक, जसलार्इ ‘फादर मुन’ भनिन्छ (वास्तविक नाम सन म्याेंग मुन) ले २००५ मा युपीएफ स्थापना गरेका थिए । उनले केही माैलिक जस्ताे लाग्ने सिद्धान्त प्रतिपादन गरेकाे बताइन्छ, जुन क्रिश्चियानिटीभन्दा बाहिर छैन । ‘न्यु क्रिस्चियन’ धर्मकाे रुपमा यसलार्इ प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा शाखा स्थापना गरिएका छन् ।
नेपालमा पनि युनिभर्सल पिस फेडेरेसन-नेपाल तथा विश्व परिवार महासंघ-नेपाल क्रियाशील रही जिल्लाजिल्लामा गतिविधि गर्दै अाएकाे छ । यसको नेपाल अध्यक्षमा एकनाथ ढकाल रहेका छन्, जसले पहिलाे संविधानसभा निर्वाचनताका नेपाल परिवार दल गठन गरी दुर्इपटक समानुपातिक काेटाबाट संविधानसभामा पुगे भने उनी दुवैपटक मन्त्रीसमेत भएका छन् ।
एकनाथ ढकाल
ढकालले पछिल्लाे संघीय निर्वाचनमा तत्कालीन एमाले-माअाेवादी गठबन्धनका लागि भाेट मागेर ‘गुन’ लगाएका थिए । प्रत्यक्षबाट अाफुले जित्न नसके पनि समानुपातिकबाट सांसद बन्ने उनकाे धाेकाे थियाे, तर गठबन्धनले उनलार्इ भाग दिन सकेन ।
युपीएफकाे एसिया-प्रशान्त क्षेत्रीय शिक्षा निर्देशककाे रुपमा राेबर्ट एस किट्टेल रहेका छन्, जुन बेलाबेला नेपालमा ठूल्ठूला कार्यक्रममा अाइरहन्छन् । शिक्षण संस्थाहरुमा समेत बालबालिकादेखि प्राध्यापकहरुकाे संगठन बनार्इ अाफ्नाे सञ्जाललार्इ व्यापक बनाइएकाे छ । पैसाकाे अाधारमा नेपालमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै ठूला दलका नेताहरुलार्इ समेत प्रभाव पार्दै यी संस्थाले नेपालमा राम्रै संरक्षण प्राप्त गरेका छन् ।
‘जिससकी एक मात्र सच्चा छाेरी’
नाेभेम्बर ३० मा हुन लागेकाे सम्मेलनमा शान्ति र विकास, जलवायु परिवर्तन, सुशासन, द्वन्द्व समाधान, विवाह र परिवार, दीगो विकास लगायतका विषयमा छलफल हुने उल्लेख गरिएको छ ।
साथै साे सम्मेलनमा सम्मेलनमा सामूहिक विवाह तथा दम्पत्तिबीच वैवाहिक सपथकाे तयारी पनि भइरहेको र संस्थाका संस्थापक फादर मुनकी छाेरीलार्इ ‘जिससकी एक मात्र सच्चा छाेरी’ घाेषणा गर्ने कार्यक्रम समेत रहेकाे बुझिन अाएकाे छ ।
यसअघि उक्त घाेषणा कार्यक्रम फिजीमा अायाेजना गर्ने युपीएफकाे तयारी थियाे । तर फिजी सरकारले कार्यक्रम आयोजना गर्न नदिएपछि नेपालमा आयोजना गर्न लागिएको हाे । सम्भवत: यसकाे प्रमुख अतिथि पनि प्रधानमन्त्री केपी शर्मा अाेली हुनेछन् । तर अालाेचना बढेपछि भने उनले पुनर्विचार गर्ने अाशा समेत गरिएकाे छ ।
राप्रपाद्वारा पनि अापत्ति
अाइएनजीअाेकाे अायाेजनामा हुने उक्त क्रिश्चियन धर्म प्रचारलाई सघाउने खालकाे कार्यक्रममा नेपाल सरकार सहअायाेजक हुने कुरालार्इ लिएर यतिखेर नेपालभित्र चर्काे अालाेचना भएकाे छ भने मिडियाहरुमा पनि यस विषयले बहसकाे रुप लिएकाे छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि एउटा धर्मप्रचारक संस्था मुख्य आयोजक भएको सम्मेलनमा देशलाई नै सहआयोजक बनाउनु दुर्भाग्यपूर्ण रहेकाे प्रतिक्रिया जनाएकाे छ । हिन्दू राष्ट्रकाे वकालत गर्दै अाएकाे राप्रपाले सरकारले नै इसार्इकरणलार्इ सघाउनु दु:खद रहेकाे जनाएकाे छ । यस्ता अनेक अावरणमा हुने विदेशी धर्म प्रचारका गतिविधलार्इ सरकारले नजरअन्दाज गर्नु विडम्बनापूर्ण भएकाे राप्रपाका नेताहरु बताउँछन् । न्युज २४ अनलाइनबाट