उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका एक जनप्रतिनिधिले एक भारतीय महिलालाई अवैध रुपमा नेपाली नागरिकता दिएको रहस्य खुलेको छ । त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष प्रकाशकुमार खड्काले भारत मधवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमती लजिना खातुनलाई अविवाहिता भन्दै नागरिकता दिलाएका हुन् ।
उदयपुर त्रियुगा नगरपालिका १० बस्ने दिल मोहमदको ३१ बर्षिया छोरी लजिना नेपाली नागरीक भएपनि भारतीय नागरीकसँग विवाह गरेकी थिइन् । भारतीय नागरीकसँग विवाह गरिसकेपछि नेपालको संविधान अनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वतः विदेशी हुने व्यवस्था छ । तर वडा अध्यक्ष खड्काले खातुनलाई नेपाली नागरीक र अविवाहित भनेर सिफारिस गरेर नागरिकता दिलाएका थिए । लजिनाकी दुई सन्तान समेत रहेका छन् ।
२०५६ सालमा पहिलो र २०६८ सालमा दोस्रो विवाह गरेकी नजिनालाई जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७४ मंसिर १८ गते ०५२३० नम्बरको नागरिकता दिएको हो । २०४४ बैशाख १५ गते जन्म भई अविवाहित भएको भनि वडा कार्यालयको २०७४ मंसिर १३ गतेको सिफारिसको आधारमा प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेलले नागरिकता जारी गरेका थिए । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको तयारीमा रहेको बेला जिल्ला प्रशासन कार्यालयको मिलेमतोमा विदेशीलाई नागरिकता दिईएको स्थानीयको आरोप छ ।
गाईघाट बोक्सेस्थित ससुरालीमै बस्दै आएका नसरुल मियाँ भारतीय नै भएको ससुरा दिल मोहमदले बताए । ‘मैले ज्वाईको नागरिकता त बनाईदिएको छैन नि ।’ गाईघाटमा निर्माण व्यवसाय गर्दै आएका दिल मोहमदले भने ‘छोरी मेरो हो, वडाको सिफारिस, प्रहरी सर्जमिन मुचुल्का र अविवाहित सिफारिस राखेर मैले छोरीलाई नागरिकता बनाईदिएको हुँ ।’
स्थानीय दिल मोहमद आफ्नी अपाङ छोरीको नागरिकताको सिफारिस माग्न आएपछि आफुले नागरिकताको सिफारिस दिएको वडा अध्यक्ष खड्काले बताए । ‘गत मंसिरमा बाबु दिल मोहमद छोरीको नागरिकता बनाउनु पर्यो भनेर आए ।’ उनले भने ‘मैले बुझ्दा दिल मोहमदकै छोरी भएपछि नागरिकताको सिफारिस गरिदिएको हुँ ।’
एक बर्ष पछि लजिना खातुन विवाहित भएको सुनेपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता रद्द गर्नका लागि पत्र पठाएको पनि वडा अध्यक्ष खड्काले जानकारी दिए । विदेशी नागरिकसँग नेपाली चेलीले विवाह गरे स्वत विदेशी हुने प्रमुख जिल्ला अधिकारी (सिडियो) विष्णु कार्कीले बताए ।
त्रियुगा नगरपालिका वडा नं. १० मा पनि विदेशी नागरिकलाई नागरिकता प्रदान गरिएको भन्ने थाहा पाएपछि नागरिकता रद्दको प्रक्रिया अघि बढाएको सिडियो कार्कीको तर्क छ । ‘विदेशीलाई नागरिकता दिएको बारेमा के भएको भनेर जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरी सकेको छ ।’ छानविनबाट दोषी ठहरे संलग्नलाई कानुन अनुसार कार्वाही हुने पनि उनले बताए ।
कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुट्टो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । नागरिकता ऐन २०६३ को दफा २१ को (१) अनुसार झुट्टो विवरण दिई नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ ।
दफा २१ कै (२) अनुसार कुनै विदेशीलाई झुट्टो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिना देखि तीन वर्षसम्म कैद वा पच्चीस हजार देखि पचास हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।