तलेजु भवानीको प्रतीक मानिने जीवित देवी कुमारी बनेका पूर्व तथा बहालवालाको निवृत्तिभरण भत्ता बढेको छ। काठमाडौं, पाटन, भक्तपुर र नुवाकोटका कुमारीको निवृत्तिभरण भत्ता बढेको हो।
कौसीतोसाखाना कार्यालय अन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार कुमारीहरूले पाउँदै गरेको भत्ता ५० प्रतिशत बढेको छ। उनीहरूले बढेको भत्ता पाउन थालेका छन्।
२०७३ साल फागुन ३ गते पूर्व तथा बहालवाला कुमारीको निवृत्तिभरण भत्ता बढाउने निर्णय गरिएको थियो। निर्णय भए पनि उनीहरूले बढेको भत्ता पाएका थिएनन्।
अहिले मन्त्रिपरिषद्को निर्णयबाट नै पूर्व तथा बहालवाला कुमारीले बढेको भत्ता पाएको कार्यालयले जनाएको छ।कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठकले भूतपूर्व कुमारीतर्फ समान तीन हजार सात सय पचास रुपैयाँ निवृत्तिभरण भत्ता बढाउने निर्णय गरेको थियो। सोही निर्णयानुसार आफूले मासिक पाँच हजार ६ सय रुपैयाँ निवृत्तिभरण भत्ता बुझेको भक्तपुरकी पूर्वकुमारी पद्मसुमना शाक्यले जानकारी दिइन्। उनका अनुसार यसअघि पूर्वकुमारीले मासिक एक हजार रुपैयाँ निवृत्तिभरण भत्ता पाएका थिए।
बहालवालाले भने दुई हजार एक सय रुपैयाँ पाउने गरेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार बढेको निवृत्तिभरण भत्ताअनुसार भक्तपुरका बहालवाला कुमारीले तीन हजार एक सय ८५ रुपैयाँ बुझ्छन्। भक्तपुरका पूर्व तथा बहालवाला कुमारीले गुठी संस्थानबाट थप एकएक सय रुपैयाँ पाउने मूल नाइके जोशी बताउँछन्।
भक्तपुरका ६ जना पूर्वकुमारी जीवित छन्। तीमध्ये २०४१ सालपछि कुमारी भएकाले मात्रै निवृत्तिभरण भत्ता पाउँदै आएका छन्। मूल नाइके जोशीका अनुसार २०४१ सालपछि कुमारी बनेकाको रेकर्ड उपलब्ध छ। तीमध्ये गीता वज्राचार्य, पद्म सुमना शाक्य, नीलम वज्राचार्य, सजनी शाक्य, श्रीया वज्राचार्य र जुनिशा शाक्यले मात्रै निवृत्तिभरण भत्ता पाउने गरेका छन्। हाल जीविका वज्राचार्य कुमारी छिन्। चार वर्षअघि कुमारी बनेकी जीविकाले ११ वर्ष भएपछि वा बेलविवाह भएपछि कुन पहिले हुन्छ त्यसको आधारमा कुमारीबाट अवकाश पाउनेछिन्।
इतिहासविद्का अनुसार भक्तपुरमा नेपाल संवत् ६११ मा राय मल्लले कुमारी पुज्ने चलन चलाएका हुन्। भक्तपुरको वज्राचार्य तथा शाक्यवंशीय कन्या मात्र एकान्त कुमारी हुनुपर्ने प्रावधान छ। कुमारी हुने सुकन्या सबै गुणले युक्त, कुनै दाग, घाउ, चोटपटक नभएको, अपांगता नभएको हुनुपर्ने प्रचलन छ। भक्तपुर तलेजुका मूल नाइके जोशीको नेतृत्वमा भक्तपुरमा एकान्त कुमारी छानिन्छ।
‘निवृत्तिभरण भत्ता बढेपछि कुमारी बन्ने बालिकासँगै उनका आमाबुवा उत्साहित हुने विश्वास लिएका छौं’, उनले भने, ‘कुमारी भइसकेपछि आउने भत्ताले उच्च शिक्षा हासिल गर्न सहज हुनेछ।’ उनका अनुसार कुमारी भइसकेपछि पाउने निवृत्तिभरण भत्ताकै मद्दतमा भक्तपुरका एक पूर्वकुमारीले स्नातक तहसम्मको अध्ययन गरिरहेकी छन्। अन्नपूर्ण पोस्ट