काठमाडौं । नेपाल सरकारका पूर्व प्रशासक, कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतले अवकाश पाएपछि आफ्नो आत्मकथा (जीवनी) मार्फत सरकारका अति गोप्य तथा संवेदनशील कुराहरु सार्वजनिक गर्न थालेपछि उनीहरुमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ ।
नेपाली सेनाको गरिमामय पदमा सम्हालेका पूर्वप्रधानसेनापतिहरुले धमाधम आफ्नो आत्मकथा भन्दै पुस्तकमार्फत अति गोप्य र संवेदनशील विषय सार्वजनिक गर्न थालेपछि ब्यापक विरोध हुन थालेको हो ।
प्राध्यापक तथा सीमावीद् फणीन्द्र नेपालले भन्छन्, 'नेपाली सेनाका प्रधानसेनापतिले देशका पक्षमा कसम नखाए पनि गोपनीयताको सपथ चाहिँ लिएका हुन्छन् । गोपनीयताको सपथ भनेको गोप्य कुरा गोप्य नै राख्ने, बाहिर प्रकाश नगर्ने भनेको हो । तर पूर्व प्रधानसेनापतिहरू आफूले खाएको सपथ र आचारसंहिता विपरीत भटाभट आत्मकथा (जीवनी) छपाइरहेका छन् ।'
उनीहरुमाथि पनि कारबाही हुनुपर्ने माग राख्दै उनले भने, 'के उनीहरुलाई कारबाही हुँदैन ? यो पनि त राष्ट्रघात नै हो ।' पूर्व प्रधानसेनापतिहरु रुक्माङगत कटवाल, छत्रमानसिंह गुरुङ लगायतले गोप्य भनिएको मुलुकका अति संवेदनशील सूचना आफ्नो आत्मकथा (जीवनी) मार्फत सार्वजनिक गरिसकेका छन् । प्राध्यापक नेपालको भाषामा भन्ने हो भने यस अर्थमा उनीहरु पनि राष्ट्रघाती नै हुन् ।
केही समय पहिलो प्रकाशित नेपाल प्रहरीका पूर्वआइजीपी अच्यूतकृष्ण खरेलको आत्मकथा जीवनीमार्फत पनि अति गोप्य र संवेदनशील विषय सार्वजनिक गरिएको छ । पछिल्लो समय राज्यबाटै पीडित बनाइएका पूर्व डीआइजी एवम् सांसद नवराज सिलवालले समेत आफ्नो आत्मकथामार्फत सनसनीपूर्ण खुलसा गर्ने तयारी गरिरहेका छन् । सिपोष्टबाट