काठमाडौं । आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ ।
दुर्गाको आठौं रुप महागौरी हो । औषधीको रुपमा यसलाई तुलसी भनिन्छ । तुलसी सात प्रकारको हुन्छ (सेतो, कालो, मरुता, दवना, कुढेरक, अर्जक तथा षटपत्र) । यि सवै प्रकारका तुलसी रक्त शुद्धिकरण कारक तथा हृदयरोग नाशक मानिन्छ ।
यिनको बारेमा संस्कृतमा श्लोक निम्नानुसारको छः
तुलसी सुरसा ग्राम्या सुलभा बहुमंजरी ।
अपेतराक्षसी महागौरी शूलघ्नी देवदुन्दुभिः ।।
तुलसी कटुका तिक्ता हुध उष्णाहाहपित्तकृत् ।
मरुदनिप्रदो हध तीक्षणाष्णः पित्तलो लघुः ।
महागौरीको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने विश्वास हिन्दू सम्प्रदायमा छ । महागौरीले देवी पार्वतीका रुपमा भगवान शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् ।
महाअष्टमीको दिन महिलाले आफ्नो पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन् । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक-फरक हुने गर्छ ।
अष्टमीको दिन महागौरीलाई बली दिइन्छ ।
महागौरीलाई बलि दिएपछि मात्रै घर घरमा दशैंको रौनक शुरु हुन्छ ।
आजको दिन मांसहारी हिन्दु धर्मावलम्बीहरुले आ-आफ्नो गच्छेअनुसार घर घरमा खसी, राँगा, सुँगुर, कुखुरा, हाँस, भेडा, च्याङ्रा इत्यादि काटेर मासु खाने गर्दछन् भने साकाहारीले दही, केरा, चिउरा, घिऊ इत्यादि परिकार खाएर चाडबाड मनाउने गर्छन् ।