चरिकोट, असोज १६ गते । दोलखाको भीमेश्वर नगरपालिका ६ मा सिर्जनशील लघु उद्यमी समूहले सञ्चालनमा ल्याएको कपडा बुनाइ उद्योगलाई व्यावसायिक रूपमा अगाडि बढाउन हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिले व्यवस्थापन पक्षमा आर्थिक सहयोग गर्न लागेको छ ।
आफ्ना महिला सेयर सदस्यहरू सो समूहमा आबद्ध रहेकाले समूह जमानीमा ऋण प्रवाह गरी उद्योगको कमजोर देखिएको व्यवस्थापन पक्षको सुधार गरी व्यावसायिक बनाउन लागिएको प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार समूहको सो उद्योग भौतिक पूर्वाधारमा सम्पन्न छ । नौ वटा बुन्ने मेसिन सही हालतमा छन् । दुई वटा वार्पिङ मेसिन छन् । धागो बनाउने मेसिन छ । तालिम प्राप्त जनशक्ति पनि मजबुत छ । केही तालमेल नमिल्दा बुनाइले गति लिन सकेको छैन । त्यो भनेको व्यवस्थापन पक्ष रहेछ । ऋण नै भए पनि आर्थिक सहयोग गरी गतिशील बनाएर महिला सेयर सदस्यलाई आयआर्जनमा वृद्धि गराउने सहकारीको उद्देश्य छ ।
व्यवस्थापन पक्षमा कच्चा पदार्थको सहज र उत्पादन वस्तुको बजारको व्यवस्था मिलाइदिने काम सहकारीले गर्ने उहाँले बताउनुभयो । सहकारीले बेला–बेलामा १५ दिने, एक महिने, तीन महिनेलगायतका सीपमूलक हातेहोजियारी बुनाइको तालिम दिँदै आएको छ ।
समूहकी सचिव उमा भुजेल ढाका बुनाइ गर्दै आए पनि समयसापेक्ष अनुरूप चल्न अहिले अल्लो कपडा पनि बुन्न लागेको बताउनुहुन्छ । व्यवस्थापन पक्ष सुध्रिएपछि बुन्नेको सङ्ख्या पनि बढ्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार समूहलाई भाडाको जग्गामा घर बनाउन जिल्ला उद्यमी समूह सङ्घले आर्थिक सहयोग गरेको छ । घरेलुले पाँच वटा मेसिन प्रदान गरेको छ । लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा ग्रामीण उद्यम विकास केन्द्रले चार वटा मेसिन उपलब्ध गराउनुको साथै विविधखाले तालिम तथा भ्रमण गराएको छ । जग्गाको भाडा वार्षिक १५ हजार तिर्नुपर्छ । कच्चा पदार्थ र बजारको व्यवस्था भए बुनाइले गति लिनेछ । ढाका दुई हजार पाँच सय, टोपी छ सय, सल सानो पाँच सय र अल्लोको कपडा प्रतिमिटर आठ सयमा बिक्री हुने गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सहकारीले पछिल्लो अवधिमा ऋण प्रवाह र बचत मात्र होइन समाजका महिला, बालबालिका, वृद्धासमेत सहज जीवनयापन गर्न के कसरी सक्छन् भन्ने विषयमा गम्भीर भएर लाग्न थालेको छ । महिला तीन हजार ५५४ पुरुष दुई हजार ९८५, संस्था २२ र बालबचतकर्ता दुई हजार आठ सय भएको सहकारी एसियाली ऋण महासङ्घबाट एक्सेस ब्रान्डको ब्रोन्ज र नेपालकै सर्वोत्कृष्ट ठहरिएको छ । कुल पुँजी ४२ करोड ९४ लाख ७७ हजार, बचत ३२ करोड १३ लाख ९२ हजार र ऋण लगानी ३५ करोड ८३ लाख ४४ हजार छ ।