काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘ग्रेटर नेपाल’को छैटौँ संस्करण नक्सा सार्वजनिक गरेको छ।
सुगौली सन्धि (१८१६ मार्च ४) भएको २१० वर्ष पुगेको अवसरमा मोर्चाले आइतबार राजधानीमा उक्त नक्सा सार्वजनिक गरेको हो।
मोर्चाका अनुसार यो नक्सा २०२६ मार्च ४ मा तयार गरिएको हो।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नक्सा सार्वजनिक गर्दै नेपालको पुनःएकीकरणसम्बन्धी अभिलेख, दस्तावेज तथा कागजात, साथै नेपाल र संयुक्त अधिराज्यबीच भएका सन्धि–सम्झौताबाट प्राप्त सामग्रीका आधारमा नक्सा परिमार्जन गर्दै जाँदा छैटौँ संस्करण जारी गर्नुपरेको जानकारी दिए।
उनका अनुसार मोर्चाले २०६३ सालमा ग्रेटर नेपालको पहिलो नक्सा सार्वजनिक गरेको थियो। त्यसमा पूर्व–पश्चिम टिस्टा नदीदेखि सतलज नदीसम्म र दक्षिणतर्फ मेचीदेखि कोसी नदीका बीचको गङ्गा नदीसम्म तथा उत्तरतर्फको भूभाग समेटिएको थियो। त्यसयता २०२६ मार्च ४ सम्म छ वटा संस्करण प्रकाशित भइसकेका छन्।
अध्यक्ष नेपालले सुगौली सन्धि हुनुअघिका विभिन्न कालखण्डमा नेपालको सार्वभौमसत्ता कायम भएका नयाँ क्षेत्र पहिचान भएमा भविष्यमा थप नयाँ संस्करण पनि प्रकाशित हुने बताए। ग्रेटर नेपालको क्षेत्रफल करिब ३३४,२५० वर्ग किलोमिटर उल्लेख गर्नुका प्रमुख आधारका रूपमा उनले १९५० जुलाई ३१ मा नेपाल–भारतबीच भएको सन्धिको धारा ८ तथा १९५० अक्टोबर ३० मा नेपाल–संयुक्त अधिराज्यबीच भएको सन्धिको धारा ८ लाई उल्लेख गरे। उनका अनुसार ती दुवै सन्धिका धारा ८ ले सुगौली सन्धि रद्द भएको संकेत गर्ने भएकाले ग्रेटर नेपाल कायम रहेको दाबी गरिएको छ।
उनले ग्रेटर नेपालको माग कुनै बखेडा नभई नेपालको राजनीतिक बेहोसीको उपज भएको दाबी गर्दै अब नेपाल त्यस अवस्थाबाट बिउँझिनुपर्ने बताए।

मे २८, २०२३ मा भारतको नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटिएको ‘अखण्ड भारत’को भित्तेचित्र सार्वजनिक भएपछि, जुन ८, २०२३ मा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएको प्रसंग पनि उनले उल्लेख गरे।
त्यस्तै, जुन २१, २०२२ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा त्यसका सभापति रवि लामिछाने ले ‘मेरो देशको नक्सा यही हुनेछ’ भन्दै ग्रेटर नेपालको नक्सातर्फ संकेत गरेको उनले स्मरण गराए।
अध्यक्ष नेपालले यी दुवै घटनालाई ग्रेटर नेपालको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई अवसरका रूपमा लिनुपर्ने बताए। उनले विगतमा सुगौली सन्धिका कारण छुट्टिएका दार्जिलिङ, सिक्किम, कुमाउ, गढवाललगायत क्षेत्रलाई पुनःनेपालमा समेट्ने विषयलाई भावनात्मक नभई यथार्थमा आधारित रूपमा बुझ्न आग्रह गरे।
ग्रेटर नेपाल अभियानका संस्थापक फणीन्द्र नेपालले करिब चार दशकदेखि यो विषय उठाउँदै आएको उल्लेख गर्दै उनले नयाँ सरकारले ग्रेटर नेपालको सम्पूर्ण भूभागको विषयमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने माग गरे। साथै नेपालीमाथि न्याय गर्न नेपाल सरकार अग्रसर हुनुपर्ने उनको भनाइ छ।
