काठमाडौँ । बंगालको खाडीमा उत्पन्न भएको चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेपछि उत्तर–उत्तरपश्चिमतिर सर्दै बुधबार साँझदेखि नेपालमा यसको प्रभाव देखिन थालेको छ । उक्त चक्रवात अहिले न्यूनचापीय प्रणालीका रूपमा नेपाल प्रवेश गरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यो प्रणालीको असर शनिबार बिहानसम्म रहन सक्ने अनुमान गरिएको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी दुई दिन मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ । पौडेलका अनुसार बिहीबारदेखि देशका अधिकांश भू–भागमा वर्षा सुरु भई शुक्रबार तीव्र हुने सम्भावना छ ।
‘बुधबार साँझबाट देशभर बादल प्रवेश गरिसकेको छ,’ पौडेलले भने, ‘बिहीबारदेखि वर्षा सुरु भई शुक्रबार ठूलो मात्रामा हुने देखिन्छ ।’
उनका अनुसार शुक्रबार कोशीका तराई भूभाग र मधेशमा व्यापक वर्षा हुने सम्भावना छ भने कोशी र बागमतीका हिमाली क्षेत्रमा बाक्लो हिमपात हुन सक्छ । साथै कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि बाक्लो हिमपातको पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार लुम्बिनीको पश्चिमी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने ‘मोन्था’ चक्रवातको प्रत्यक्ष असर कम रहनेछ । ती क्षेत्रमा पश्चिमी वायुको प्रभावले आंशिक बादल र छिटपुट वर्षा मात्र हुन सक्ने अनुमान छ । शनिबार दिउँसोबाट देशभर मौसम सामान्य अवस्थामा फर्किने सम्भावना मौसमविद्हरूले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्ला साथै दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा र नवलपुरमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँका बासिन्दालाई मौसमको अद्यावधिक विवरण लिएर सुरक्षित बस्न अनुरोध गरिएको छ ।
शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना सार्वजनिक भएपछि मधेश प्रदेश सरकारले विपत् व्यवस्थापनका तयारी बढाएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले बुधबार प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाई सुरक्षासंस्थादेखि सम्बन्धित निकायसम्मलाई पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सोनलका अनुसार सप्तकोशी, बागमती, कमला, रातु र लखनदेही नदीको जलस्तर खतराको सीमाभन्दा माथि पुग्ने सम्भावना छ, जसले तटीय बस्तीहरूमा जोखिम बढाएको छ । उनले ती बस्तीका बासिन्दालाई सुरक्षित स्थान — धर्मशाला, विद्यालय वा सार्वजनिक भवनमा सारिन आग्रह गरेका छन् ।
‘विपत् जोखिम न्यूनीकरणका लागि सबै स्रोतसाधन र जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ,’ सोनलले भने, ‘जनताको सुरक्षालाई उच्च प्राथमिकता दिइनेछ ।’