काठमाडौँ । वर्तमान संक्रमणकालीन अवस्थाका कारण प्रदर्शन र जुलुसमार्फत अराजक गतिविधि गर्न नहुने अपेक्षा सबै नागरिकले गरेका छन् ।
समाजमा शान्ति र सुव्यवस्था कायम राख्नु सबै नागरिकको कर्तव्य भएकाले कुनै पनि सभा, समारोह वा प्रदर्शनमा सचेत नागरिक सहभागी नहुनेमा सबैको जोड रहेको छ ।
केही धार्मिक तथा राजनीतिक अतिवादी समूहहरूले यतिबेला अस्थिरताको फाइदा उठाउँदै शान्ति र स्थायित्वलाई खलल पुर्याउने षड्यन्त्र गरिरहेका छन् । यसतर्फ जेन–जी पुस्ता र सचेत नागरिकले सतर्क रहनुका साथै यस्ता अतिवादलाई निषेध गर्नुपर्नेमा धेरैको मत रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीले चारै सुरक्षा निकायका प्रमुखसँग शनिबार बिहान करिब दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेकी छन् । उक्त छलफलमा हालको संवेदनशील अवस्थाका कारण घुसपैठको जोखिम बढेकाले आन्दोलनका गतिविधि नियन्त्रण गर्नुपर्ने विषयमा सुरक्षा प्रमुखहरूले जोड दिएका थिए ।
चरम विवादित तथा धार्मिक अतिवादका प्रतिनिधि दुर्गा प्रसाईंलगायत केही समूहले आन्दोलनको तयारी थालेपछि सो छलफल बोलाइएको हो ।
‘सकेसम्म सम्झाउने, नभए सशक्त रूपमा कारबाही अघि बढाउने विषयमा सहमति भएको छ,’ गृह मन्त्रालय स्रोतले जनाएको छ, ‘सरकार त्यही सुरक्षा रणनीतिअनुसार अघि बढ्नेछ ।’
स्रोतका अनुसार आन्दोलनमा घुसपैठको उच्च जोखिम रहेकाले यसले निर्वाचनको वातावरणसमेत अस्थिर पार्न सक्छ । त्यसकारण, तत्काल आन्दोलन वा प्रदर्शन रोकी संवाद र वार्तामार्फत समस्या समाधान गर्ने रणनीति तय गरिएको हो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाललगायत उच्च अधिकारी सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गर्दै सम्भावित चुनौतीका विषयमा विस्तृत छलफल गरेका थिए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सबै पक्षलाई संवादमार्फत अघि बढ्न आग्रह गरे ।
‘सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरेका छौँ,’ उनले भने, ‘विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको समाचार आएको छ । आफ्नो राजनीतिक माग जिम्मेवार ढंगले राख्ने सबै स्वतन्त्र छन्, तर राजनीतिक मुद्दा समाधानका लागि संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग वार्ता गरेर समस्याको समाधान खोज्ने हाम्रो चाहना हो ।’
उनले वर्तमान परिस्थितिलाई ध्यानमा राखी सबै पक्ष जिम्मेवार र संयमित रहनुपर्नेमा जोड दिए ।
गृह मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार सबैको जायज माग सम्बोधन गर्न तत्पर रहेको र त्यसका लागि आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायतका कार्यक्रम सार्वजनिक भइरहेका विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । देशमा अस्थिरता ल्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता फैलाउन सक्ने भएकाले आयोजकहरू समेत सचेत रहनुपर्ने देखिन्छ ।’
मन्त्रालयले राष्ट्रिय सुरक्षा खलल हुन नदिन, साम्प्रदायिक सद्भाव कायम राख्न र राष्ट्रिय हित प्रवर्द्धन गर्ने कार्यमा सबै नागरिकलाई सहयोगी बन्न अनुरोध गरेको छ ।
यसैबीच, अनुमति नलिई माइतीघरमा विरोध प्रदर्शन गर्ने केही युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरक्षा संवेदनशीलताको कारण काठमाडौंमा जिल्ला प्रशासन कार्यालयको अनुमतिविना कुनै पनि प्रदर्शनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।