काठमाडौँ । ओमानको अल अमेरात क्रिकेट मैदानमा सम्पन्न आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको छ । सहभागी नौ टोलीमध्ये सुपर सिक्स चरणमा सबै खेल जित्दै नेपालले १० अंकका साथ उपाधि उचालेको हो ।
सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४ रनले पराजित गर्दै सात वर्षपछि आइसिसी उपाधि जित्यो । यसअघि नेपालले सन् २०१८ मा अन्तिमपटक आइसिसीको ट्रफी हात पारेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो । आसिफ शेखले ६९ र दीपेन्द्रसिंह ऐरीले ५३ रनको अर्धशतकीय योगदान दिए । लोकेश बमले अविजित ३९ रन थपे ।
लक्ष्य पछ्याउन उतरेको सामोआ २० ओभरमा सात विकेट गुमाएर ८७ रनमै सिमित भयो । ललित राजवंशीले तीन विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कप्तान रोहित पौडेलले एक–एक विकेट झारे ।
कप्तान पौडेलले भने, ‘हामी भारतका लागि टिकट काट्न सफल भएका छौँ । जहाँ भारत, अस्ट्रेलिया र इंग्ल्यान्डजस्ता बलिया टिमसँग खेल्ने मौका पाउनेछौँ ।’
नेपाल, ओमान र युएई अब भारत–श्रीलंकामा हुने विश्वकपमा सहभागी हुनेछन् । विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।
यो जितसँगै नेपालले आइसिसीको छैटौँ उपाधि आफ्नो नाममा लेखाएको छ ।