काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा पहिरो र बाढीको उच्च जोखिम रहने जनाएको छ ।
सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिए। विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।
विभिन्न राजमार्ग अवरुद्ध र पहिरो
मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ ।
वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।
यता मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।
अविरल वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमतीअन्तर्गत मुख्य राजमार्गहरू चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण दुई स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका-४ बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै मकालु गाउँपालिका-३, एकुवामा भदौ १५ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढी र पहिरोको चपेटामा परेको छ, जसले गर्दा महत्त्वपूर्ण सडक खण्डहरू अवरुद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका-२ (नेपाल र चीन नाका जोड्ने पुल) असार २४ गतेको बाढीका कारण नेपाल र चीन जोड्ने यो महत्त्वपूर्ण पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउाँपालिका-२ (पासाङ ल्हामु सडक खण्डमा सडक) असोज असार १६ गतेदेखि गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अरनिको राजमार्गको सिन्धुपाल्चोक र काभ्रे खण्डमा भने पहिरोका कारण सडक एकतर्फी भएको छ ।
सडक खुलाउनका लागि सम्बन्धित निकायहरूले प्रयास गरिरहेका नेपाल प्रहरीले जनाएको छ ।
देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ । विभिन्न जिल्लामा आज भारी वर्षाको सम्भावना रहेकोले बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिम रहेको छ ।
यी जिल्लाको नदी किनारमा रहनेहरूले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न विभागले अनुरोध समेत गरेको छ ।
धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– 'धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ । '
लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।