काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत छङ सोङबीच सिंहदरवारमा भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्याइन्।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाका अनुसार प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन र प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोग निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्रीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित सहयोग गरेको चीन सरकारप्रति धन्यवाद व्यक्त गर्दै अन्य नाकाहरूबाट पनि आवतजावत सहजीकरणका लागि सहयोग प्राप्त हुने विश्वास जताइन्।
यस अवसरमा राजदूत सोङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल–चीनबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले दुवै देशबीच भएका सम्झौता, सहयोग र सहकार्य निरन्तरता पाउने स्पष्ट गर्दै चीन सदैव दुवै देश र जनताका हितमा काम गर्न तयार रहेको बताए।
परराष्ट्रविद्हरूका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले चीनको विश्वास अघिल्ला सरकारहरू भन्दा बढी आर्जन गरेको छ।
देउवा, प्रचण्ड र ओलीको बोली–व्यवहारमा भर नपर्ने अवस्थाले चीनसँगको विश्वास कमजोर भएको बताउँदै परराष्ट्रविद्हरूले कार्की सरकार बनेपछि चीनले कोराला नाका दीर्घकालीन रूपमा खोल्ने सहजता प्रदान गरेको र नेपाल–चीन सम्बन्धमा नयाँ विश्वासको अध्याय सुरु भएको विश्वास व्यक्त गरेका छन् ।