काठमाडौँ । नेकपा एमालेको आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा सिंगो पार्टी पंक्ति उभिने सम्भावना बलियो बन्दै गएको छ ।
एमालेकी पूर्वउपाध्यक्ष भण्डारीलाई बहुमत पदाधिकारीले खुलेर समर्थन गरिसकेका छन् । पोलिटब्यूरो र केन्द्रीय कमिटीका धेरैजसो सदस्यले पनि दोस्रो विधान महाधिवेशनको दिनसम्म खुलेरै उनको पक्षमा जाने तयारी गरिरहेका छन् ।
एक पोलिटब्यूरो सदस्यले भने, ‘भविष्यमा एमालेको नेतृत्व भण्डारीले नै गर्ने भएकाले अहिले नै उहाँलाई समर्थन गर्नु बुद्धिमानी हुन्छ । उहाँको पक्षमा लाग्ने नेताहरूको जिम्मेवारी पनि सुरक्षित रहने देखिन्छ ।’
अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय सुरेन्द्र पाण्डे, यूवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवहरू र अन्य वरिष्ठ नेताहरू भण्डारीको पक्षमा स्पष्ट रूपमा उभिइसकेका छन् । ईश्वर पोखरेल,पाण्डे र ज्ञवाली विधान महाधिवेशनमा फरक मत पेश गर्ने तयारीमा छन् । सुरेन्द्र पाण्डेले ‘भण्डारी एमालेकै पुरानो नेता भएकाले महाधिवेशनले अनुमोदन गर्नेछ’ भन्दै सार्वजनिक रूपमा समर्थन जनाइसकेका छन् ।
उता, अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू भने भण्डारीलाई रोक्ने तयारीमा जुटिरहेका छन् । ओलीले पटक–पटक भण्डारीलाई रोक्ने अभिव्यक्ति दिँदै आएका छन् । उनको पक्षले भण्डारीको सदस्यता नवीकरण नभएको दाबी गर्दै आएको छ भने इतर पक्षले महासचिव शंकर पोखरेलमार्फत सदस्यता गत वर्ष नवीकरण भइसकेको प्रमाण प्रस्तुत गरिसकेका छन् । यो विषय सुरेन्द्र पाण्डेले सार्वजनिक मञ्चबाट अवगत गराइसकेका छन् ।
ओलीको पछिल्लो व्यवहार र शैलीले पनि एमालेमा व्यापक असन्तोष बढाएको देखिन्छ । उनले पदाधिकारीको उमेर सीमा हटाउनेदेखि अध्यक्ष पद आफूसम्मै सीमित राख्ने तयारी गरेका छन् । भीम रावललगायत नेताहरूलाई किनारा लगाउने, असहमति जनाउने नेताहरूलाई अपमान गर्ने र विधानलाई व्यक्तिगत हितअनुसार परिमार्जन गर्ने ओलीको प्रवृत्तिले असन्तुष्टि बढाएको राजनीतिक जानकारहरुले विभिन्न फोरमहरुमा बताउँदै आएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, दुई कार्यकाल राष्ट्रपति रहँदा भण्डारीले स्वच्छ र विवादरहित छवि बनाएकी थिइन् । उनले एमालेमा फर्कनुको मुख्य उद्देश्य शक्ति सन्तुलन कायम गर्दै इतरपक्षलाई भविष्यमा नेतृत्वको बाटो खोलिदिनु हो । एक विश्लेषकले भने, ‘भण्डारी आफै सरकारको नेतृत्व लिन चाहन्नन्, तर पार्टीलाई तिथी र पद्धतिमा फर्काउन चाहन्छिन् ।’
जनस्तरमा पनि भण्डारीप्रति सकारात्मक धारणा कायम छ । राष्ट्रपतिका रूपमा भ्रष्टाचार वा व्यक्तिगत लाभमा उनको नाम नजोडिनु, महिलामैत्री नीति तथा राजनीतिक स्थिरतामा योगदानका कारण उनले ठूलो विश्वास आर्जन गरेकी छन् ।
देशभरका ७७ जिल्लामा कार्यकर्ता पंक्ति भण्डारीकै पक्षमा खडा भइरहेको देखिन्छ । केहीदिनअघि वीरगंजमा आयोजित कार्यक्रममा सिंगो एमाले पंक्ति विद्याको पक्षमा देखिनुले उनको पकड बलियो बनेको विश्लेषण गरिएको छ ।
यसरी विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारी पक्षको प्रभाव बढ्दो छ भने ओली पक्षधरहरू क्रमशः रक्षात्मक अवस्थामा धकेलिँदै गएका छन् । विश्लेषकका अनुसार, विधान महाधिवेशनपछि आउने अबको नेतृत्व चयन ११ औँ राष्ट्रिय महाधिवेशनमा विद्या भण्डारी अध्यक्ष बन्ने सम्भावना अत्यधिक रहेको छ ।