काठमाडौँ । फेसबुकको मातृ कम्पनी ‘मेटा’ ले नेपालका फेसबुक कन्टेन्ट क्रियटरलाई ‘कन्टेन्ट मोनिटाइजेसन’ को सुविधा उपलब्ध गराउन थालेको छ । यसै सातादेखि फेसबुकले यो सुविधा सुरु गरेको हो ।
कन्टेन्ट मोनिटाइजेसन भन्नाले क्रियटरले फेसबुकमार्फत आम्दानी गर्न सक्ने एक माध्यमलाई जनाइन्छ । यसअघि फेसबुकले इन–स्ट्रिम एड्स (भिडिओमा देखिने विज्ञापन) र ‘स्टार्स’ सुविधामार्फत मात्र कमाई गर्ने अवसर उपलब्ध गराएको थियो । अहिले इन–स्ट्रिम एड्सलाई पनि कन्टेन्ट मोनिटाइजेसन अन्तर्गत समेटिएको छ ।
सामान्यतया यो सुविधा पाउन फेसबुक पेज वा प्रोफेसनल मोडमा कम्तीमा १० हजार फलोअर्स हुनुपर्छ । तर, कतिपय अवस्थामा १० हजार फलोअर्स नहुँदा पनि यो सुविधा उपलब्ध हुने देखिएको छ ।
अब कन्टेन्ट मोनिटाइजेसन सुविधा प्राप्त गरेका फेसबुक पेज र प्रयोगकर्ताले आफ्ना पोस्ट, रिल्स, स्टाटस तथा स्टोरीमार्फत समेत आम्दानी गर्न सक्नेछन् । केही प्रयोगकर्ताले त यो सुविधा सुरु भएलगत्तै नेपाली बैंक खातामै रकम प्राप्त गर्न थालेको दाबी गरेका छन् ।
यद्यपि, केहीलाई भने पेआउट सेटअप गर्दा ‘पेआउट डिसेबल’ हुने समस्या देखिएको अनुभव छ । यसअघि पनि केही नेपाली क्रियटरले वैकल्पिक उपायमार्फत नेपालमै बसेर मोनिटाइजेसनबाट आम्दानी गरेको बताएका थिए । कतिपयले भने मेटाले सेवा उपलब्ध गराएको देशमा पेज रजिस्टर गरी त्यहींबाट आम्दानी गर्दै आएका थिए ।
यसबीच, सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने तयारी सरकारले गरिरहेको बेला मेटाले नेपाली प्रयोगकर्तालाई यस्तो सुविधा दिन थालेको हो । तर, नेपाल सरकारले भने सृजनशील युवाको रोजगारी खोस्ने र स्टार्टअप व्यवसायमा लागेकाहरुलाई हतोत्साहित गर्ने गरी फेसबुक नै बन्द गर्ने तयारी गरिरहेको आरोप लागेको छ ।
नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता गर्नुपर्ने चेतावनी दिएपछि लाखौं युवा सडक र सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध खनिएका छन् । नागरिकको तीव्र विरोधबीच सरकारले आफ्नो असफलता, भ्रष्टाचार, अक्षम्यता, विचौलियाको दादागिरी र लुटतन्त्र लुकाउन दर्ताको बहानामा सामाजिक सञ्जाल कम्पनीलाई धम्क्याउने प्रयास गरेको आरोप विज्ञहरुले लगाएका छन् ।
स्मरण रहोस्, नेपालजस्ता साना, न्यून व्यापारिक मूल्य र सीमित प्रयोगकर्ता भएका मुलुकमा फेसबुक वा एक्स (पूर्व ट्विटर) जस्ता कम्पनीले कार्यालय खोल्ने वा कर्मचारी खटाउने प्रचलन छैन ।
यस्ता मुलुकले स्व–नियम र नीति बनाएर सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने गरेका छन् । सोही क्रममा, अमेरिकी कम्पनी एक्सले पनि नेपालका प्रयोगकर्तालाई विकसित मुलुकसरहको सुविधा उपलब्ध गराउन थालेको छ ।
– एजेन्सी