काठमाडौँ । इन्डिया र चीनबीच भएको लिपुलेक मार्ग हुँदै व्यापारिक आवागमन खोल्ने सहमतिविरुद्ध सात कम्युनिष्ट पार्टीहरूले राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा सहभागी पार्टीहरूले कालापानी क्षेत्रमा तैनाथ इन्डियन सेना तत्काल हटाउनुपर्ने र इन्डिया–चीनबीच नेपाललाई जानकारी नै नदिई भएको सम्झौता नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि सीधा आक्रमण भएकाले अविलम्ब खारेज गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी), नेकपा (विद्रोही), र नयाँ जनवादी मोर्चा नेपाल सहभागी थिए ।
नेपालको स्वाभिमान रक्षार्थ र इन्डिया–चीनबीच लिपुलेक मार्ग खोल्ने सम्झौताको विरोधमा प्रदर्शन भएको ग्रेटर नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख फणीन्द्र नेपालले जानकारी दिए ।
प्रदर्शनकारीहरूले सुगौली सन्धि (सन् १८१६) देखि १९५० को असमान सन्धि, कोशी–गण्डक सम्झौता, टनकपुर सम्झौता, महाकाली सन्धि, विप्पा सम्झौता जस्ता घटनामा पनि तत्कालीन शासकहरू विदेशी स्वार्थअनुरूप काम गरेको आरोप लगाएका थिए ।
।
इन्डिया र चीनले नेपाललाई पन्छाएर भदौ ३ गते गरेको लिपुलेक सम्झौता रणनीतिक हस्तक्षेप हो, यसले नेपालको स्वाधीनता, आत्मनिर्णय र भू–अखण्डता कमजोर बनाउँछ, त्यसैले यो सम्झौता तत्काल खारेज हुनुपर्छ, प्रदर्शनका क्रममा सातवटै कम्युनिष्ट पार्टीहरूले माग गरेका छन् ।