काठमाडौँ । धेरैलाई थाहा नहुन सक्छ, चीनका गाउँगाउँमा फेसन शोले व्यापकता पाएको छ । फेसन शो भन्ने वित्तिकै शहरका ठूला बन्द स्टेज वा हलमा आयोजना गर्ने बुझिन्छ । तर, चीन यति खुला समाजमा प्रवेश गरिसकेको मुलुक हो कि जहाँ फेसन शो सार्वजनिक खुला स्थानमै, गाउँ–गाउँमै फैलिएको छ ।
१ अर्ब ४० करोड बढी जनसंख्या भएको मुलुकमा सय वर्षयता महिला हिंसा वा बलात्कारजस्ता घटना नभएको तथ्याङ्क यहाँको समाजको खुलापन र सुरक्षित वातावरणको प्रमाण हो ।

चीनका अधिकांश नागरिकले कुनै पनि धर्म मान्दैनन् । एकाध पुरानो पुस्ताले बुद्ध धर्मलाई आस्था मानेपनि युवा पुस्तामा कुनै धर्मप्रति रुचि छैन । व्रत, धार्मिक जकड, अन्धविश्वास, सनातन बन्धन लगायत पुरातन प्रवृत्तिबाट टाढा रहेको चीनमा घर–घरमै मातृसत्ता बलियो छ । यहाँ जबर्जस्ती विवाह हुँदैन । माओ त्से तुङले सबैलाई प्रेम विवाह गर्ने अधिकार दिलाएपछि विशेषगरी महिलाले आफ्ना जीवनसाथी रोज्ने स्वतन्त्रता पाएका छन् । त्यसयता चीनमा मातृशक्ति हावी हुँदै आएको छ ।
चीनले विकास, प्रविधि, महिलामैत्री नीति र छोरीको सुरक्षा तथा स्वतन्त्रताको हिसाबले विश्वमै नम्बर वान स्थान सुरक्षित गरेको छ । मिस वर्ल्ड प्रतियोगिता सबैभन्दा धेरै आयोजना गर्ने देश पनि चीन हो ।
हालै क्वेइचो प्रान्तको काङच्याङ काउन्टीस्थित बिङमेई सहरको बाशा मियाओ जातीय गाउँमा एक फेसन शो आयोजना गरिएको थियो, जसमा जातीय सम्पदालाई फेसनसँग मिश्रण गरिएको थियो । स्थानीय बासिन्दाहरूले मोडेलको रूप धारण गरेर पुनःनिर्मित ¥यानवेमा आत्मविश्वासका साथ परम्परागत मियाओ पोशाक प्रस्तुत गरे । उनीहरूले लोक परम्परा र आधुनिकतालाई एकैसाथ प्रस्तुत गरेर मनमोहक वातावरण सिर्जना गरे ।
यसरी फेसन शो र मनोरञ्जनात्मक कार्यक्रम केवल क्वेइचोमा मात्र होइन, युनान प्रान्तको लिज्याङ, गुआङ्सीको याङ्सुओ गाउँ, सिचुवानको लाङझोङ, गुआङडोङको छाओझोउ, हेनानको दाङफोङ, शान्सीको पिङयाओ, तथा इनर मङ्गोलियाको ओर्डोस गाउँसम्म नियमित आयोजना हुने गरेका छन् । यी गाउँमा आधुनिक मोडलिङसँगै स्थानीय पोशाक, लोकसंगीत र नृत्यलाई प्रदर्शन गर्ने गरिन्छ । शहरको भीडभाडमा पुग्नै नपरी गाउँ–गाउँमा मनोरञ्जन, रमाइलो र सांस्कृतिक चेतना फैलिरहेको देखिन्छ ।

फेसनसँगै चीनका युवायुवतीबीच प्रेम विवाह सामान्य जीवनशैलीको हिस्सा बनेको छ । परिवार वा समाजले रोक्ने परम्परा छैन । खुलेआम पार्क, चोक, विद्यालय वा क्याम्पसमा प्रेम गर्ने, घुम्ने, विवाह गर्ने वातावरणलाई सामान्य मानिन्छ । छोरी–किशोरीहरूले स्कर्ट, जिन्स वा कुनै पनि पोशाक लगाउँदा कसैले केही भन्दैनन् । पुरुषहरू प्रायः अफिसियल पोशाकमा सर्ट, पाइन्ट, टाइ लगाउँछन् भने महिलाहरूले फरक–फरक फेसन अपनाउँछन् ।
धर्मविहीन तर सांस्कृतिक विविधतामा धनी चीनमा छोरी र किशोरी अत्यन्त स्वतन्त्र र सुरक्षित जीवन बाँचिरहेका छन् । यसैले चीनमा फेसन शो, मनोरञ्जन, प्रेम विवाह र सामाजिक स्वतन्त्रता केवल सांस्कृतिक कार्यक्रम मात्र नभई आधुनिक जीवनशैलीकै परिचय बनेको छ ।

समाचार स्रोतः विभिन्न एजेन्सी ।