काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिबार यहाँ शिष्टाचार भेटवार्ता गरेकी छन् ।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएकी उपराष्ट्रपति भोसँग भएको भेटमा नेपाल–भियतनाम सम्बन्धका विविध आयाम, द्विपक्षीय हितका मुद्दा तथा आपसी चासोका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री डा. राणाले पछिल्ला वर्षमा भियतनामले गरेको तीव्र आर्थिक विकासप्रति बधाई दिँदै उक्त अनुभवबाट अन्य मुलुकहरूले पनि सिक्न सक्ने धारणा राखिन् । उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सबल बनाउनुपर्नेमा जोड दिँदै बौद्ध धर्म दुवै देश र जनतालाई जोड्ने महत्वपूर्ण कडी भएको उल्लेख गरिन् ।
लुम्बिनी भ्रमणमा भियतनामी नागरिकहरूको उल्लेखनीय उपस्थिति बढिरहेको उदाहरण दिँदै मन्त्री राणाले सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न सकिने बताइन् । उनले पछिल्ला वर्षमा दुवै देशबीच पर्यटक आवागमन उल्लेखनीय रूपमा बढेको जानकारी दिँदै पर्यटन प्रवर्द्धनमा अझै सशक्त साझेदारी गर्नुपर्नेमा जोड दिइन् ।
यस क्रममा मन्त्री राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सञ्चालन गर्ने वातावरण निर्माण गर्न आग्रह गरिन् । साथै, नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रको सूचीबाट बाहिरिने तयारीमा रहेको भन्दै त्यसपछिका चुनौतीपूर्ण अवस्थालाई सामना गर्न आवश्यक सहयोगका लागि पनि उनले आग्रह गरिन् ।
भेटमा उनले नेपालले सन् २०२७–२०२९ का लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् र २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यका उम्मेदवारी दिएको स्मरण गराउँदै भियतनामबाट समर्थन मागिन् । उपराष्ट्रपति भोले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
दुवै नेताहरूले नेपाल र भियतनामले विगतमा जस्तै आगामी दिनमा पनि द्विपक्षीय तथा बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै जाने विश्वास व्यक्त गरे । साथै, जी–७७, नाम (नन–अलाइन्मेन्ट मुभमेन्ट) लगायतका मञ्चमा विकासशील मुलुकहरूको हित रक्षाका लागि दुवै देश एकमत भएर अघि बढ्ने प्रतिबद्धता पनि प्रकट गरे ।