काठमाडौँ । रुपन्देही कारागारमा १२६ दिन बसिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने क्रममा उनले कारागारको भित्तामा भावुक सन्देश लेखेर छोडेका छन् ।
भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा लामिछानेले आफू बसेको कोठाको भित्तामा लेखेर आएको सन्देश सुनाएका थिए ।
‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले भने, ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’
वाग्ले र झा कारागारमै भेट्न पुगे पनि भेट्न नपाएको र विमानस्थलमा केहीबेर भेट भएको जानकारी समेत झाले दिएका छन् ।
लामिछानेले राजनीतिक प्रतिशोधका कारण कारागार सारिए पनि आफू नडराउने स्पष्ट पार्दै भनेका छन्, ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन्, जता सक्छन् लगून्, केही फरक पर्दैन ।’
भैरहवा कारागारबाट नख्खु सरुवाका लागि लामिछाने अहिले बुद्ध एयरको यूए ८६० जहाजमार्फत काठमाडौं आइरहेका छन् ।