काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरूमा विशेष पूजा, व्रत, भजन–कीर्तन र धार्मिक कार्यक्रमसहित जन्माष्टमी पर्व धूमधामका साथ मनाइएको छ।
उपत्यकासहित देशका विभिन्न मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठुलो भीड लागेको छ। पाटन मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिरमा हजारौँ भक्तजनले दर्शन तथा पूजा अर्चना गरिरहेका छन्। यसैगरी गोठाटारस्थित नवतनधाम, बुढानीलकण्ठस्थित इस्कन मन्दिरलगायतका तीर्थस्थलहरूमा समेत विशेष कार्यक्रम आयोजना भएका छन्।
धार्मिक विश्वासअनुसार विष्णुको दश अवतारमध्ये आठौँ अवतारका रूपमा द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको थियो। अधर्ममाथि धर्मको विजय र मानव समाजलाई अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मुक्ति दिलाउन उहाँ अवतरित भएको शास्त्रमा उल्लेख छ।
आजको दिन विशेषगरी महिलाहरूले व्रत बस्ने, मध्यरातमा श्रीकृष्ण जन्मको स्मरण गर्दै पूजा गर्ने र रातभर जाग्राम बसेर भजन–कीर्तन गर्ने परम्परा छ। यसरी व्रत बसेर पूजा गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशलाई जीवन दर्शनको रूपमा लिइन्छ। उहाँले प्रतिपादन गरेका ज्ञान योग, ध्यान योग, कर्मयोग र भक्ति योगलाई आज पनि आध्यात्मिक मार्गका प्रमुख आधार मानिन्छ।
गोकुल, मथुरा, वृन्दावन, द्वारका लगायत भारतका विभिन्न तीर्थस्थलहरूमा झाँकी, रथयात्रा, झुला उत्सव र नाचगानसहित भव्य समारोह भइरहेको छ। नेपालमा पनि यस अवसरमा विशेष आराधना, शोभा यात्रा र भक्ति संगीतका कार्यक्रम सम्पन्न भइरहेका छन्।
श्रीकृष्ण जन्माष्टमीलाई केवल धार्मिक पर्व मात्र नभई अहंकारको विनाश, प्रेम र भक्ति, धर्म र सत्यको स्थापनाको प्रतीकका रूपमा स्मरण गरिन्छ।