काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात् रक्षाबन्धनको पवित्र पर्व देशभरका सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्ति सहित मनाइरहेका छन्।
तिथिका आधारमा मनाइने जनै पूर्णिमा पर्व हरेक वर्ष फरक महिना, बार र गतेमा पर्छ। अघिल्लो दिन चोखोनितो गरी एक छाक मात्र खाने व्रत बस्ने र आज बिहान दैनिक पूजनादी नित्यकर्म सम्पन्न गरी नदी, तलाउ, पोखरी आदिमा स्नान गरेर जनै फेर्ने तथा रक्षा बन्धन बाँध्ने परम्परा रहिआएको छ। यस क्रममा मन्त्र उच्चारण गरी सप्तऋषिहरूको स्तुति गर्ने र अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारणसहित तर्पण दिने गरिन्छ।
भविष्यपुराणका अनुसार, रक्षाबन्धनका दिन घरको बीचभाग लिपपोत गरी बेदी तयार गरी चारै दिशामा चार कलश स्थापना गर्ने र शुभ मुहूर्तमा गुरु पुरोहितको हातबाट मन्त्रपूर्वक रक्षा बन्धन बाँध्ने विधि प्रचलित छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा देवगणलाई दानवराज बलीको अत्याचारबाट बचाउन गुरु वृहस्पतिले रक्षा विधानको सूत्र बाँधेका थिए, जसको परम्परा आजसम्म चलिआएको हो। रक्षा बन्धनलाई तिहारको गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिने प्रथा पनि छ, जसले मृत्यु पश्चात् वैतरणी नदी सजिलै पार गर्न सकिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
आजको दिन ब्राह्मण, क्षत्रिय र वैश्य समुदायका तागाधारी पुरुषहरूले पुरानो जनै त्यागी नयाँ जनै लगाउने शास्त्रीय विधान छ। पोखरी, तलाउ, नदी वा कुण्डमा स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गर्ने, रुद्राभिषेक गर्ने तथा जनै दान गर्ने परम्परा पनि आजैको दिनसँग सम्बन्धित छ। जनै धारणले जीवनलाई शुद्ध, संयमी र अनुशासित बनाउने विश्वास रहँदै आएको छ, जसले आयु, बुद्धि, तेज र बलको वृद्धिमा सहयोग पुर्याउँछ।
यसै अवसरमा जनै पूर्णिमामा क्वाँटी खाने परम्परा पनि विशेष महत्वका साथ पालना गरिन्छ। एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार पारिने क्वाँटीलाई धार्मिक र आयुर्वेदिक दृष्टिले पौष्टिक मानिन्छ। यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणालीलाई सुधार्ने र वर्षायाममा खेतको काम गर्दा लागेको चिसो हटाइ भित्रदेखि नै तापको सञ्चार गर्ने विश्वास छ।
आजको दिन धार्मिक विधि, संस्कार र स्वास्थ्य–पोषणका परम्परागत अभ्यासको अद्वितीय संगमका रूपमा देशभर उल्लासपूर्वक मनाइँदैछ।
पछिल्ला वर्षहरूमा भारतबाट अनेकखाले प्रचलन भित्रिएकोले यसबाट सावधान रहनुपर्ने कुरा सनातन धर्मका जानकारहरूले बताएका छन्।