काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (शुक्रवार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ। बैठकको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका हुन्।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका हालका गतिविधि, संसदीय दलको रुपन्देही बैठक, उपनिर्वाचनको तयारी तथा संगठन सुदृढीकरणबारे विस्तृत छलफल गरिने बताइएको छ। साथै, कुलिङ अफ पिरियड अवधिमा देखिएको गडबडीबारे भएको छानबिन प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिनेछ।
प्रदेश इन्चार्जहरूले प्रदेश स्तरको रणनीति प्रस्तुत गर्नेछन्, जसका लागि प्रत्येकलाई अधिकतम ३ मिनेटको समय छुट्याइएको छ। यस्तै, केन्द्रीय सदस्यहरूले २ मिनेटको समय पाउने छन्।
बैठकमा पार्टी सचिवालयका निर्णयहरूमा पनि छलफल र अनुमोदन गरिनेछ। साथै विधान व्याख्या र अनुमोदन, केन्द्रीय विभाग प्रमुखको मनोनयन र पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावमाथि आवश्यक निर्णय लिइने बताइएको छ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार सुनिश्चित गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषय र सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानसम्बन्धी प्रगति रिपोर्ट पनि बैठकमा प्रस्तुत हुने जनाइएको छ।
रास्वपाको यो बैठकले आगामी पार्टी रणनीतिहरू तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।