काठमाडौँ । नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको छ दशकभन्दा बढी समय वितिसकेको छ। यतिबेला दुबै मुलुकबीचको सम्बन्ध बहुआयामिक ढंगले प्रगाढ बन्दै गएको छ। सरकारी तहमा निरन्तरता पाइरहेको सम्बन्धलाई जनस्तरमा पनि बलियो बनाउने उद्देश्यले "नेपाल–चीन जन सम्पर्क केन्द्र (Nepal-China People to People Relation Centre – NCPPRC)" को स्थापना गरिएको छ।
काठमाडौंमा ‘नेपाल–चीन जनसम्बन्ध केन्द्र’ नामक यो संस्था हालै स्थापना गरिएको हो। संस्थाका संयोजक फणीन्द्र नेपालका अनुसार सरकारले–सरकारबीचको सम्बन्ध सुदृढ हुँदै गएको भए पनि जनस्तरमा समेत समान रूपमा सम्बन्ध विस्तार हुनु अहिलेको आवश्यकता हो। त्यसैलाई ध्यानमा राखी दुई देशबीच जनस्तरको सम्बन्ध मजबुत बनाउने अभिप्रायले यो संस्था गठन गरिएको हो।
संस्थाको प्रमुख उद्देश्य नेपाल–चीन जनताको आपसी मित्रता, समझदारी, जनस्तरमा विश्वास अभिवृद्धि, र दुई देशबीचको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक, पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नु रहेको छ। यस संस्थाले नेपाल–चीनबीचको मित्रतालाई अझ गहिरो बनाउँदै दुई देशका जनताबीच सीधा सम्बन्ध कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

संयोजक फणीन्द्र नेपालले जनस्तरमा चिनियाँ मित्रहरूसँग सम्बन्ध विस्तार गर्न विगतदेखि नै सक्रिय भूमिका खेलेका छन्। चीन भ्रमणका क्रममा उनले नेपाली संस्कृति र सम्भावनाहरू चिनियाँ समाजमा प्रचार–प्रसार गर्न योगदान पुर्याउँदै आएका छन्। त्यस्तै, चीनबाट नेपाल आउने आगन्तुकहरूलाई नेपाली समाज, परम्परा र संस्कृति नजिकबाट बुझ्न सहज वातावरण निर्माणमा पनि उनको प्रयास उल्लेखनीय रहँदै आएको छ।
फणीन्द्र नेपालको नेतृत्वमा स्थापित केन्द्रले निकट भविष्यमा नेपाल र चीनबीच जनस्तरको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। साथै, दुबै मुलुकका सरकारी र गैर–सरकारी निकायहरूसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, डिजिटल प्रविधि र पर्यटनजस्ता क्षेत्रको विकासमा सहयोग पुर्याउने योजनासमेत केन्द्रको रहेको छ।
उनले भने, “नेपाल र चीनबीचको मित्रता केवल सरकारबीचको कूटनीतिक सम्बन्धमा मात्र सिमित हुनुपर्दैन, जनस्तरको सम्बन्ध अझै महत्वपूर्ण हुन्छ। यसले नै साँचो मित्रता निर्माण गर्छ।”
यस संस्थाले भविष्यमा चीनको विभिन्न क्षेत्रहरूमा नेपाली संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धनमा सहयोग पुर्याउने, दुई देशबीच नियमित जन–अदन प्रबर्द्धन गर्ने, र युवास्तरमा सम्बन्ध बलियो बनाउने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
नेपाल–चीन जनसम्पर्क केन्द्रले निकट भविष्यमा दुवै देशका सरकारहरूबीच पनि सहकार्य गर्ने विश्वास दिलाउँदै आवश्यक परेमा नेपाल सरकारमार्फत चीन सरकारलाई केन्द्रको गतिविधिबारे जानकारी गराइनेछ।
यस संस्थाले नेपाल–चीन जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउँदै दुई मुलुकबीचको समग्र सम्बन्धलाई स्थायित्व र गहिराइ प्रदान गर्नेमा सबैको विश्वास रहेको छ।