काठमाडौँ । राप्रपाले नवराज सुवेदीलाई हटाउन पर्नुका कारण सहित निर्वाचन आयोगलाई पत्र पठाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू आयोग पुगेर जवाफ पेस गरेका हुन् ।
आयोगले साउन ५ गते राप्रपालाई पत्र पठाएर २ वटा विषयमा खुलाउन आग्रह गरेको थियो । दलका वरिष्ठ नेता नवराज सुवेदी, प्रवक्ता सगुन सुन्दर लावती, केन्द्रीय सदस्य तथा सदस्य सचिव धनसुर शाही, महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शम्शेर जबरा र उपाध्यक्ष मुकुन्द श्याम गिरी समेतले अध्यक्ष विधानअनुसार नचलेको भनेर उजुरी दिएको भन्दै यसम्बन्धमा ७ दिन आवश्यक कागजात सहित यथार्थ विवरण खुलाइ पेस गर्न आयोगले राप्रपालाई भनेको थियो ।
जसअनुसार आयोगले ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य एवं अनुशासन समितिको अध्यक्ष, वरिष्ठ नेता नवराज सुवेदी समेतलाई निजहरूको ४ वर्षको कार्यकाल बाँकी रहँदै पार्टीको विधान विपरीत हटाइएको भन्ने व्यहोराको निवेदन यस आयोगमा प्राप्त भएकोले यस सम्बन्धमा निज निवेदकहरूलाई अनुशासनात्मक कारबाही भएको हो होइन सो सम्बन्धमा कारबाही भएको भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८, १९ को व्यवस्था एवं तहाँ दलको यस आयोगबाट स्वीकृत विधानको धारा ४३ बमोजिमको प्रक्रिया अवलम्बन गरिएको छ छैन’ भनेर सोधेको थियो ।
यस्तै ‘दलको स्वीकृत विधानको धारा ३१ (ग) र (ङ) बमोजिम कुनै कारबाही भएको छ छैन ?’ भनेर पनि सोधेको थियो ।
सोअनुसार राप्रपाले अध्यक्षले आफ्नो अधिकारअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गरेको बेहोरासहितको जवाफ पेस गरेको छ ।
यस्तै जवाफी पत्रमा नवराज सुवेदीले सार्वजनिक रूपमै पदत्याग गरिसकेको भन्दै अहिले आएर आफू अनुशासन आयोगमा रहेको भन्नु राजनीतिक रूपमै नमिल्ने जिकिर गरिएको छ । यस्तै पार्टी विधानतः पूर्ण रूपमा चलेको पनि जवाफमा उल्लेख गरिएको छ । राप्रपामा पछिल्लो पटक दुई लाइन सङ्घर्ष चर्किएको छ ।
राप्रपा संस्थापन पक्षले भने अनुशासन तोड्ने प्रकारका गतिविधिमा संलग्नलाई कारवाहीमा तिव्रता दिइरहेको छ ।