काठमाडौँ । चीन–आसियान एक्स्पो (CAEXPO) सचिवालयले हालै घोषणा गरेअनुसार श्रीलंका यही सेप्टेम्बरमा चीनको नाननिङमा आयोजना हुने २२औं चीन–आसियान एक्स्पोको विशेष साझेदार राष्ट्रको रूपमा सहभागिता जनाउनेछ।
क्वाङचोस्थित श्रीलंकाली महावाणिज्य दूतावासले चीनलाई आधिकारिक पत्र पठाउँदै उक्त सहमतिको पुष्टि गरिसकेको छ, जुन दुई राष्ट्रबीच बढ्दो आपसी विश्वास र बहुपक्षीय सहयोगको जीवन्त प्रमाण हो।
सेप्टेम्बर १७ देखि २१ सम्म सञ्चालन हुने यो बहुप्रतीक्षित एक्स्पोमा श्रीलंकाले उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल, प्रमुख उद्योगी, मसला उत्पादक, बन्दरगाह क्षेत्रका प्रतिनिधिहरू र अन्य स्थानीय कम्पनीहरूको सहभागिता गराउँदै आफ्नो आर्थिक, व्यापारिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी गरेको छ। राष्ट्रिय छविको प्रदर्शनी, वस्तु प्रदर्शनी तथा प्रवर्द्धन सम्मेलनजस्ता कार्यक्रममार्फत श्रीलंकाले चीन र अन्य सहभागी राष्ट्रहरूसँग आफ्नो सम्बन्धलाई गहिरो बनाउने अपेक्षा गरिएको छ।
CAEXPO मा विशेष साझेदार राष्ट्र चयन गर्ने अभ्यास ११औं संस्करणदेखि सुरु भएको हो, जसअन्तर्गत चीनले RCEP सदस्य राष्ट्र तथा "बेल्ट एण्ड रोड" परियोजनामा सहभागी मुलुकहरूलाई रणनीतिक साझेदारका रूपमा आमन्त्रित गर्दै आएको छ। यसमार्फत चीनले केवल आसियानसम्म सीमित व्यापारिक साझेदारीलाई अन्तरमहादेशीय आयाम दिँदै क्षेत्रीय समृद्धिको नयाँ सम्भावना निर्माण गरिरहेको छ।
चीन र श्रीलंकाबीचको सम्बन्ध पछिल्लो दशकमा राजनीतिक, आर्थिक, पूर्वाधार, स्वास्थ्य र पर्यटन क्षेत्रसम्म फैलिँदै आएको छ। "बेल्ट एण्ड रोड" पहलअन्तर्गत कोलम्बो पोर्ट सिटी, हंबनटोटा बन्दरगाह र सडक–रेल पूर्वाधारमा चीनको सहकार्यले श्रीलंकाको भौतिक विकासलाई नयाँ दिशा दिएको छ। यस्तै, कोविड महामारीको कठिन समयमा चीनले स्वास्थ्य सामग्री, खोप र वित्तीय राहतमार्फत श्रीलंकाको जीवनरक्षा प्रयासमा योगदान पुर्यायो।
श्रीलंकाले पछिल्लो समय भारतसँगका धेरै सम्बन्धहरू तोडेपछि खुला समाजतर्फ लम्किएको देखिन्छ। अहिले दक्षिण एसियामा माल्दिभ्सपछिको दोस्रो प्रमुख पर्यटक गन्तव्यको रूपमा श्रीलंका स्थापित हुँदै गएको छ।
त्यहाँ क्रमशः धार्मिक अतिवाद र सामाजिक कुरीतिहरू मत्थर हुँदै गइरहेका छन् र केही हदसम्म निराकरण पनि भएका छन्। त्यसको प्रत्यक्ष प्रभावस्वरूप तेस्रो मुलुकका पर्यटकहरूले आफूलाई सुरक्षित महसुस गर्न थालेका छन्। जानकारहरूका अनुसार, भारतसँगका सम्बन्धहरू क्रमशः हटाउँदै जानु नै श्रीलंकाको महत्वपूर्ण उपलब्धि हो।
पर्यटन प्रवर्द्धनमा पनि चीन निरन्तर सहयोगी छ। श्रीलंकाको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र बौद्ध धार्मिक सम्पर्कलाई लक्ष्य गर्दै चिनियाँ पर्यटकहरूका लागि विविध प्याकेज र मार्केटिङ अभियान चलाइएको छ। सन् २०१८ सम्ममा श्रीलंका भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या तीन लाख नाघिसकेको थियो भने हाल त्यो संख्या पुनः वृद्धि गर्ने प्रयासमा दुवै देश क्रियाशील छन्।
दुई देशबीचको व्यापार सन्तुलन सुधार गर्न श्रीलंकाले चीनसँग कृषि, मसला, जलस्रोत र हस्तकला क्षेत्रमा निर्यात बढाउने रणनीति लिएको छ। यस्ता प्रयासले श्रीलंकाको आर्थिक पुनरुत्थानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस वर्षको एक्स्पो श्रीलंकाका लागि केवल व्यापारिक अवसर मात्र नभई कूटनीतिक एवं रणनीतिक साझेदारीलाई पुनःपरिभाषित गर्ने महत्वपूर्ण मोड बन्ने देखिएको छ। चीनको पूर्वाधार कूटनीति र श्रीलंकाको विकास आकांक्षाबीचको सहकार्यले दक्षिण एशियामा स्थायित्व, व्यापारिक समृद्धि र आपसी सम्बन्धको नयाँ युगको ढोका खोल्ने संकेत दिएको छ।
–पिपुल्स डेली अनलाइनबाट