काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली इन्डिया भ्रमणमा जाने भएका छन्।
इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ओली आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१ गते) इन्डियाको राजधानी नयाँ दिल्ली जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली १७ तारिख (असोज १ गते) फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले चीन भ्रमण गरिसकेका छन् भने प्रधानमन्त्री बनेको एक वर्षसम्म इन्डियाको यात्रा गरेका थिएनन्।
नेपाल–इन्डिया सम्बन्धमा देखिएको चिसोपन, विशेषतः लिम्पियाधुरा, कालापानी र लिपुलेक विवादपछि दुवै देशबीच उच्चस्तरीय भ्रमणमा सुस्ती आएको थियो।
ओली सरकारका पालामा सन् २०२० मा नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसमा ती नेपालका आफ्ना क्षेत्रहरू समेटिएका थिए। नेपालको आफ्ना भूभाग मिचिएको बारेमा बोल्ने पनि पहिलो प्रधानमन्त्री ओली नै हुन् । यस घटनाले इन्डियालाई असन्तुष्ट बनाएको र त्यसपछि सम्बन्धमा तनाव आएको बताइन्छ।
तर पछिल्ला महिनाहरूमा नेपाल–इन्डिया सम्बन्धमा केही सुधारको संकेत देखिएको छ। यसअघि ओली र मोदीबीच थाइल्याण्डमा भएको बिमस्टेक सम्मेलनको अवसरमा भेटवार्ता भएको थियो। यो भेटलाई सम्बन्ध सुधारतर्फको प्रयासको रूपमा हेरिएको थियो।
नेपालका लागि इन्डियासँगको सम्बन्ध ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र आर्थिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा पनि इन्डिया भ्रमण गरेका थिए।
त्यसपछिको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ। नेपालमा २०७२ को संविधान जारी भएपछि इन्डियाले अघोषित नाकाबन्दी गरेको आरोप लाग्दा ओलीको इन्डियाप्रति कडा धारणा सार्वजनिक भएको थियो। त्यही कारणले उनको इन्डिया भ्रमण सँधै चासोको विषय बन्दै आएको हो।
प्रधानमन्त्री ओली अहिले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको सरकारको नेतृत्व गरिरहेका छन्।
प्रधानमन्त्री बनेपछि इन्डियाले तुरुन्तै निमन्त्रणा नपठाएको विषयमा आलोचना समेत भएको थियो। तर हाल मोदी सरकारको तर्फबाट आएको दुईदिने निमन्त्रणालाई सकारात्मक संकेतको रूपमा हेरिएको छ।
यो भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा समस्या, जलस्रोत, व्यापार, पारवहन, पूर्वाधार विकास, र जनस्तरको सम्बन्धजस्ता विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
साथै, इन्डियाबाट नेपालमा भइरहेको लगानी, ऊर्जा व्यापार र रेलमार्ग विस्तारजस्ता परियोजनाहरूलाई पनि एजेन्डामा राखिने सम्भावना छ।
यसपटकको भ्रमणलाई कूटनीतिक रूपमा धेरैले "सावधानीपूर्वक सन्तुलन साध्ने" भ्रमणको रूपमा हेरेका छन्।
चीन भ्रमणपछि इन्डिया भ्रमणले ओलीले दुई छिमेकी देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने रणनीति अवलम्बन गरेको संकेत देखिएको छ।
अब प्रश्न यो उठ्छ कि – के प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल–इन्डिया सम्बन्धमा नयाँ अध्याय सुरु गर्नेछ, कि पुरानै असमझदारीको सिलसिला पुनः दोहोरिनेछ? आगामी भेटवार्ताको स्वरूप र संयुक्त वक्तव्यले त्यसको संकेत दिनेछ।