काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिएको एमसीसी परियोजना अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ लाई निरन्तरता दिने भएको छ ।
विश्वमा एमसीसी प्रोजेक्ट लागु भएका मुलुकहरुमा अन्य कयौं आयोजनाहरु आकर्षित भएका उदाहरण छन् ।
नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै एमसीसी अनिवार्य लागु हुने बताएको हो। दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी सरकारले निरन्तरता दिन र पूर्ण कार्यान्वयन गर्ने भएको छ ।
दूतावासको विज्ञप्तिमा भनिएको छ,‘ यद्यपि अमेरिकी विदेशी सहायतामाथिको समीक्षा निरन्तर चलिरहेको छ, सन् २०२५ फेब्रुअरीमा स्टेट सेक्रेटरीले अमेरिकाको विदेशी सहायता ९० दिनलाई स्थगित गर्ने निर्णयमा एमसीसी नेपाल कम्प्याक्टका लागि भने विशेष छुट दिने प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो। सोही छुटअनुसार एमसीसी नेपाल कम्प्याक्टलाई पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकारप्राप्त भएको छ।’
दूतावासले एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षाको रचनात्मक समर्थनमा सरोकारवालासँग निरन्तर छलफल गरिरहेको पनि उल्लेख गरेको छ । यस सम्झौताका सम्भावित नयाँ प्रावधानहरूसहित यसअन्तर्गत भइरहेका कार्यहरू अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्दोजुल्दो छन् भनी सुनिश्चित गर्न र पारदर्शिता, सुदृढ शासन, प्रभावकारी वितरण र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम गरिरहेको दूतावासले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका समृद्धिको प्रवर्धन र दीर्घकालीन आर्थिक दिगोपनाबाट नेपाली जनतालाई सहयोग गर्न र आफ्नो नेपालसँगको द्विपक्षीय सम्बन्धप्रति प्रतिबद्ध छ।’
नेपालमा तेस्रो मुलुकका आयोजनाहरु लागु हुनबाट रोक्न इन्डियन शक्ति केन्द्रहरु सक्रिय भएपनि एमसीसी, बिआरआई लगायतका प्रोजेक्ट कार्यान्वयनको बाटोमा जाँदा अन्य धेरै देशका आयोजनाहरु पनि आउने बाटो खुल्ने अर्थ क्षेत्रका विज्ञहरुले औंल्याएका छन् ।
इन्डियाले आफ्नो प्रभूत्व स्थापित गर्न नेपालमा तेस्रो मुलुकका आयोजनाको विरोधमा केही धार्मिक र दक्षिणी समूदायलाई उचालेर आन्तरिक मतभेद सृजना गरेको प्रबुद्ध क्षेत्रमा बहस छ ।
तर, नेपालले आफ्नो हितलाई पुरा गर्न तेस्रो मुलुकका आयोजना अनिवार्य लागु गर्नुपर्ने र फरक विकासको मोडेलमा जानुपर्ने अर्थ क्षेत्रका जानकारहरुले जोड दिंदै आएका छन् ।