काठमाडौँ । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा (२२ जेठ) आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारी पाएका हुन् ।
यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।
नयाँ प्रवक्ता बस्नेत यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ । राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले कार्यजिम्मेवारी सम्हाल्नेछन् ।
ब्रिगेडियर जनरल बस्नेत २०५१ सालमा नेपाली सेनामा प्रवेश गरेका हुन् । उनले त्यतिबेला गोरख बहादुर गणबाट सेकेन्ड लेफ्टिनेण्टको रूपमा जिम्मेवारी प्राप्त गरेका थिए ।
बस्नेतले देश तथा विदेशमा विभिन्न तालिमहरू सम्पन्न गरिसकेका छन् । नेपालमा बस्नेतले इन्फेन्ट्री यङ अफिसर कोर्स, कम्पनी कमाण्डर कोर्स, कमाण्ड एण्ड स्टाफ कोर्स, तथा हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स पूरा गरिसकेका छन् ।
सहायकरथी बस्नेतले इन्डियामा इन्फेन्ट्री यङ अफिसर कोर्स, क्यानडामा जुनियर कमाण्ड एण्ड स्टाफ कोर्स, मलेसियामा कमाण्ड एण्ड स्टाफ कोर्स र बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिज (आरसीडीएस) अन्तर्गत ग्लोबल सेक्युरिटी प्रोग्राममा स्नातक पुरा गरेका छन् । साथै, इन्डियाबाट वरिष्ठ कमाण्ड कोर्स र वरिष्ठ रक्षा व्यवस्थापन कोर्सको पनि बस्नेतलाई लामो अनुभव रहेको छ ।
संयुक्त राष्ट्रसंघका तीन फरक–फरक शान्ति मिसनहरूमा ब्रिगेडियर जनरल बस्नेतले सहभागिता जनाइसकेका छन् । अब बस्नेतको भूमिका नेपाली सेनाको अफिसियल ब्रिगेडियर सहित सूचना अधिकारीका रुपमा प्रवक्ता रहनेछन् ।