काठमाडौँ । नेपाल सरकारका पछिल्ला गतिविधिको मूल्यांकन गर्दै अमेरिकाले नेपाली नागरिकका लागि भिसा प्रक्रियामा कडाइ गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गर्दै अबदेखि कडा सुरक्षा जाँचबिना कसैलाई भिसा दिन नसकिने जनाएको छ।
दूतावासको सूचनामा भनिएको छ, “प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट जानुपर्नेछ, जसमा कानुन कार्यान्वयन निकायका रेकर्ड तथा आतंकवादविरोधी डाटाबेसमा नाम जाँच पनि समावेश हुनेछ। सबै सुरक्षा जाँचहरू पूर्ण रूपमा समाधान नभएसम्म तपाईंको भिसा जारी हुनेछैन।”
अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकता दिँदै “संभावित खतरा हुनसक्ने व्यक्तिहरूलाई अमेरिकातर्फको यात्रा प्रतिबन्ध नै नागरिक सुरक्षा सुनिश्चित गर्ने प्रमुख उपाय” भएको उल्लेख गरेको छ।
पछिल्लो समय नेपाल सरकारका अधिकारीहरूकै संलग्नतामा पैसा लिएर भिजिट भिसामा नागरिक पठाइएको खुलासा सार्वजनिक भएपछि अमेरिकाले यस्तो कडाइ गरेको हुन सक्ने विश्लेषण कूटनीतिक क्षेत्रका जानकारहरूले गरेका छन्।

यति गम्भीर विषय बाहिर आउँदा समेत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक जिम्मेवार नठहर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि झन् कमजोर भएको विज्ञहरूको टिप्पणी छ।
विज्ञहरू भन्छन्, “यदि सरकारले निष्पक्ष छानविन गरेर सत्यतथ्य सार्वजनिक गरेको भए, अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति विश्वास राख्ने आधार बन्ने थियो। तर, प्रधानमन्त्री स्वयं गैरजिम्मेवार बनेकाले सिंगो राष्ट्रमाथि नै प्रश्न उठेको छ।”
गत वर्ष निकै बदनाम काण्डका रुपमा चिनिएको भुटानी शरणार्थी मुद्दामा जोडिएकी परराष्ट्र मन्त्री आरजु राणा देउवाका कारण पनि अमेरिकी नियोगहरु झस्किएका छन् ।
यो विषयमा नेपाली संचारमाध्यममा लगातार समाचार आउँदा कुनै छानविन नहुनुले त्यो बेलादेखि नै अमेरिकाले नेपाललाई शंकाको रुपमा हेरेको थियो । अहिले उनै भुटानी शरणार्थी काण्डमा मुछिएकी आरजु परराष्ट्र मन्त्री भएकोले अमेरिका थप सशंकित भएको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।
भुटानी शरणार्थी काण्ड अहिलेसम्म छानविन हुन सकेको छैन । केही कर्मचारीलाई मात्र थुनिएको छ । बरु यो काण्डमा आरजु देउवाको नाम जोडिएपछि रातारात सरकार परिवर्तन भएको थियो । अहिलेसम्म भुटानी शरणार्थी मुद्दा सामसुम पारिएको छ ।
भुटानी शरणार्थी काण्ड समाधान नहुँदै आएको भिजिट भिसा प्रकरणले झन नेपालको छवि थप धुमिल भएको छ । यी दुबै घटनाका कारणले पनि नेपाललाई अमेरिकाले भिसा जारी गर्ने नियम परिवर्तन गरेको हुन सक्ने विज्ञहरुको अनुमान छ । अमेरिकाले गरेको यो निर्णयले विश्वभरका अन्य देशहरुले समेत नेपाललाई हेर्ने कुटनैतिक दृष्टिकोण परिवर्तन गर्न सक्ने विज्ञहरुले औंल्याएका छन् ।
त्रिभुवन विमानस्थलमा भइरहेका मानव बेचबिखन, घुस लेनदेन र कर्मचारीहरूको भ्रष्टाचारबारे निरन्तर समाचार आइरहँदा प्रधानमन्त्री ओली उल्टै आरोप लगाउनेहरूलाई व्यङ्ग्य गर्दै भाषण गरिरहेकाले नागरिक आक्रोश चुलिएको छ। ओलीले सार्वजनिक रूपमा “हामी झोले, म झोले” जस्ता अभिव्यक्ति दिँदै गम्भीर आरोपलाई हल्का रूपमा लिएको आरोप ओलीमाथि लागिरहेको छ।
प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकका कारण दशकौं लगाएर बनाएको नेपालको अन्तर्राष्ट्रिय छवि अहिले समाप्त हुने अवस्थामा पुगेको अनुमान विज्ञहरुले गरेका छन् ।