काठमाडौँ । २०७२ साल असोज ३ गते पूर्णरूपमा लागू भएको नेपालको संविधानले कार्यान्वयनमा प्रवेश गरेको अझै दस वर्ष पनि पुगेको छैन। राजनीतिक दृष्टिले हेर्दा यो अवधि निकै छोटो हो। बल्ल संविधान कार्यान्वयनको प्रारम्भिक चरण पार गर्दै गर्दा गणतन्त्र व्यवस्थामाथि विभिन्न कोणबाट प्रहार हुन थालेका छन्।
पुनरुत्थानवादी तथा पश्चगामी सोच भएका पार्टी, समूह र व्यक्तिहरू नेताहरूको असफलतालाई बहाना बनाएर व्यवस्थाविरुद्ध आक्रमक बनेका छन्। तर, यसको पछाडि केवल असन्तुष्टि मात्र नभई योजनाबद्ध षड्यन्त्र लुकेको देखिन्छ।
सन् २०१४ पछि इन्डियाको सत्तारूढ राजनीतिक वृत्तले दक्षिण एसियामा धर्मको नाममा आतंक फैलाउने नीति लिएको छ। इन्डिया धार्मिक उग्रवादको केन्द्र बन्दै गएको छ, जसको असर छिमेकी राष्ट्रहरूमा प्रत्यक्ष देखिन थालेको छ।
नेपालमा पनि धर्मको नाममा जुलुस, प्रदर्शन, र्याली र पर्वहरूलाई उग्र रूप दिँदै सडकमा होहल्ला, गाउँगाउँमा सर्वसाधारणमाथि दबाब, धर्म परिवर्तनको आरोपमा धम्की, नेताहरूप्रति घृणा, कलाकारहरूमाथि आक्रमण तथा सामाजिक असहिष्णुता फैलाउने गतिविधिहरू बढिरहेका छन्।
यस्ता अराजकतामूलक गतिविधिहरूलाई राजनीतिक आवरण दिन खोज्दै राजतन्त्र पक्षधर तथा हिन्दू कट्टरपन्थी संस्थाहरूले मधेस र काठमाडौं उपत्यकामा शक्तिशाली सञ्जाल बनाइरहेका छन्। पछिल्लो समय इन्डियासँग सीमा जोडिएका नागरिकहरूले उपत्यकामा व्यापक रूपमा घर बनाइसकेका छन्। तिनीहरू अब पहाडी क्षेत्रमा समेत इन्डियाको उत्तर प्रदेश, बिहार वा नेपालको मधेसझैं धार्मिक अखडा निर्माण गर्दै समाजलाई विभाजित गर्न खोजिरहेका छन्।
महिला, विशेषतः किशोरीहरूलाई दबाबमा राख्ने, स्वतन्त्र पोशाक लगाउन नदिने, मासुजन्य परिकार प्रतिबन्ध गर्ने, नेताहरूलाई धर्मको पक्षमा बोल्न बाध्य बनाउने, तथा फरक धर्ममा विश्वास गर्नेहरूलाई दुर्व्यवहार गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ।
यस्ता प्रवृत्तिहरू इन्डियाको उत्तर प्रदेश, मध्यप्रदेश र बिहारमा विशेषरूपमा रहेका छन् । इन्डियामा त्यो महिलासंहार गर्ने डरलाग्दो धार्मिक प्रथा वर्षौंदेखि जरा गाडिएर बसेको समस्या हो । जहाँ छोरीहरुमाथि धर्मको नाममा हुने पुरुष हिंसा निकै खतरनाक मानिन्छ । त्यो प्रवृति खुल्ला सिमाना हुँदै नेपाल प्रवेश गरिसकेको छ ।
इन्डियाको यस्तो कूप्रथा नरोक्ने हो भने नेपालमा तेस्रो मुलुकबाट पर्यटक आउँदैनन् । नेपाल खुल्ला समाज र खुल्ला सोच भएका नागरिकको देश भनेर विश्वमा चिनाउन सकियो भने मात्र यहाँ पर्यटन व्यवसायी फस्टाउनेछ । अनि मात्र नागरिकहरु धनी हुनेछन् ।
धर्मको यही आडमा इन्डियाका केही गुप्त तत्वहरूसँग मिलेर नेपालका पश्चगामी दल तथा संगठनहरूले हिन्दू राष्ट्र र राजतन्त्रको माग उठाउन थालेका छन्। संविधानमाथि प्रहार गर्न यिनीहरूले योजनाबद्ध गतिविधिहरू गर्दै आएका छन्।
यस्ता प्रयासहरूविरुद्ध सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर उभिन थालेका छन्। विशेषतः वामपन्थी दलहरूको राष्ट्रियता, सार्वभौमिकता र गणतन्त्रको पक्षमा देखिएको दृढता प्रशंसनीय छ।
नेपाली कांग्रेस पनि यसमा सहमत देखिए तापनि त्यसकै एक सानो तप्काले हिन्दू राष्ट्रको माग गर्दै अस्थिरता निम्त्याउन खोजिरहेको चिन्ताजनक अवस्था छ। यस्तो प्रवृत्ति देखाउनेलाई नेपाली कांग्रेसले अविलम्ब कारबाही गर्नुपर्छ। साथै, पार्टीले बीपी कोइरालाको धर्मनिरपेक्ष र धर्मरहित समाजवादको विचार स्मरण गर्न आवश्यक छ।
पछिल्ला वर्षहरूमा खुलेका मधेसवादी दलहरूको व्यवहारप्रति मुख्यधारका दलहरू सजग हुनु जरुरी छ। बारम्बार सत्ताको भर्याङ बनेर प्रयोग हुने यी दलहरूको साम्प्रदायिक सोच र विखण्डनवादी गतिविधिले नेपाललाई अस्थिर र कमजोर बनाउने खतरा छ।
इन्डियाले नेपाली नेताहरूलाई आफ्नो प्रभावमा राख्न बेलाबेलामा धार्मिक नेताहरू र कूटनीतिक माध्यममार्फत दबाब सिर्जना गर्दै आएको छ। ती इन्डियन नेताहरूलाई नेपालका प्रधानमन्त्रीदेखि उच्चपदस्थ नेतासम्म सोझो पहुँच हुन्छ। यस्तो विदेशी हस्तक्षेप अब अन्त्य हुनुपर्छ।
नेपालका मन्त्रीहरू इन्डिया जाँदा आफ्ना समकक्षी नेतासँग पनि भेट्न पाउँदैनन्, प्रधानमन्त्रीसँग त झन् सम्भव छैन। तर, इन्डियाका सामान्य नागरिक नेपाल आए भने यहाँका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सजिलै भेट्छन्—यो अत्यन्त लज्जास्पद अवस्था हो।
नेताहरूको अकर्मण्यता, भ्रष्टाचार र असफलतालाई आधार बनाएर अहिले पश्चगामी शक्तिहरूले जुन खेल खेल्न खोजिरहेका छन्, त्यसप्रति नेताहरू आफैँ सचेत हुनु जरुरी छ।
त्यसपछि मात्रै संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण, खुला र स्वतन्त्र समाजको निर्माण र सुरक्षित, स्वाभिमानी नेपालको भविष्य सुनिश्चित हुनेछ।