काठमाडौँ । इन्डियाको सरकारले त्यहाँको समाचार पोर्टल ‘द वायर’माथि निष्पक्ष समाचार लेखेकोमा प्रतिबन्ध लगाइदिएको छ ।
अन्य संचारमाध्यम र टेलिभिजनहरुले झैँ मोदी, चरम हिन्दुत्व र बिजेपीको चौपट गुनगान गाउनुपर्ने दबाब स्वरुप इन्डियन सरकारले निष्पक्ष काम गरिरहेका मिडियामाथि प्रतिबन्ध लगाएको त्यहाँका शुद्ध व्यवसायीक पत्रकारहरुले प्रतिक्रिया जनाएका छन् ।
वरिष्ठ पत्रकार रवीश कुमारले इन्डियाका टेलिभिजन नहेर्न आफ्ना सामाजिक संजालमा पोष्ट गरेका छन् ।
धार्मिक विभेद, हिंसालाई प्रोत्साहन, सद्भाव भड्काउने तथा समाजमा आतंक फैलाउने इन्डियन टेलिभिजन र गोदी मिडियाको चरित्र भएको रवीश कुमारले आफ्ना भिडियोहरुमा उल्लेख गरेका छन् ।
समाचार पोर्टल ‘द वायर’ लाई इन्डिया र पाकिस्तानबीच जारी तनावबीच मोदी सरकारका चरित्र र यसका सामग्रीमा असहमति जनाउँदै इन्डियन सरकारले प्रतिबन्ध लगाएको छ ।
‘द वायर’ अनलाइनले इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदी, बिजेपी, अतिवाद धार्मिक गतिविधि र सरकारका बारेमा निष्पक्ष सामग्रीहरू पस्किँदै आएको थियो । यो अनलाइनका सामग्री नेपाल लगायत धेरै देशका मिडियाहरुले साभार गर्दै आएका छन् । राष्ट्रिय समाचार डटकमले पनि ‘द वायर’का सामग्री साभार गर्छ ।
द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।
‘यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ’, उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।’
‘द वायर’ले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ ।

‘हामी अत्यन्त संवेदनशील समयमा भएको यो प्रतिबन्धतको विरोध गर्छौं, जतिबेला विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज तथा समाचार स्रोतहरू आवश्यक छ’, सूचनामा भनिएको छ, ‘यो कमदविरुद्ध हामीले आवश्यक कदमहरू पनि चालिरहेका छौं ।’
सूचनामा ‘सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पछि नहट्ने’ समेत भनिएको छ । इन्डियन अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा ‘द वायर’को स्थापना गरेको थियो ।
इन्डियामा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने ‘द वायर’विरुद्ध विभिन्न हिन्दु चरमपन्थी व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दाहरू दायर गरेका छन् ।
केही महिनाअघि ‘द काराभान’ म्यागजिनले कश्मिरमा इन्डियन सेनाबारे रिपोर्टिंग छापेका बेला पनि सञ्चार मन्त्रालयले अनलाइनबाट हटाउन निर्देशन दिएको थियो ।
‘द काराभान’ म्यागजिन पनि इन्डियामा मोदी र बिजेपीलाई प्रश्न गर्ने सीमित सञ्चारमाध्यमहरूमध्ये पर्छ ।
कम्यूनिष्ट र खुल्ला विचारका दलहरुले गरे विरोध
त्यसैगरि, दुई वामपन्थी दल भाकपा मार्क्सवादी र भाकपाले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् ।
भाकपाका महासचिव डी राजा र मार्क्सवादीका महासचिव एमए बेबीले केन्द्रीय सञ्चारमन्त्री अश्विनी बैष्णवलाई पत्र लेखेरै ‘द वायर’ जस्ता निष्पक्ष समाचार लेख्ने मिडियामाथि प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।
दुवै वामपन्थी पार्टीले इन्डियन सरकार समर्थित सञ्चारमाध्यमहरूमाथि भने कारबाहीको माग गरेका छन् । इन्डियन सरकार तथा सेनाबाट प्रमाणित नभएका फेक भिडियो र सूचना प्रवाह गरेर सरकार समर्थित धेरै सञ्चारमाध्यमहरू र टेलिभिजनले साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको उनीहरूको भनाइ छ ।
त्यसैगरि, खुल्ला विचार राख्ने ८ हजार सामाजिक बौद्धिक व्यक्तित्व र तिनका संस्थाका एक्स (ट्वीटर) पूर्ण रुपमा इन्डियन मोदी सरकारले प्रतिबन्ध लगाएको छ ।
एजेन्सी