काठमाडौँ । पाकिस्तानको सेनाले इन्डियाका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ।
फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। इन्डियन विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि इन्डियन विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ।
विमान खसालेको पाकिस्तानी दाबीबारे इन्डियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो इन्डियन सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ भनेर रोयटर्सले लेखेको छ।
राफेल लडाकु विमान इन्डियन सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत इन्डियाले किनेको हो।
इन्डियन वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन्।
इन्डियाको आक्रमणबाट ३० जना भन्दा बढी सामान्य नागरिक मारिएको इन्डियन संचारमाध्यमहरुले जनाएका छन् ।
यसअघि इन्डियनले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। इन्डियाले गरेको मिसाइल आक्रमणमा परेर ४० जना सर्वसाधारणको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
इन्डियाको रक्षा मन्त्रालयले इन्डियामाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ। गत महिना इन्डियाको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो ।
पाकिस्तानले उक्त घटनालाई निष्पक्ष छानविनको माग गरिरहेको छ भने इन्डियाले इन्कार गरिरहेको छ ।
इन्डियाले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो। बुधबार पाकिस्तानका विभिन्न स्थानहरुमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ।
पाकिस्तानले इन्डियन आक्रमणको जवाफ दिने पनि बताएको छ। पाकिस्तानले पनि प्रत्याक्रमण सुरु गरेको छ ।
एजेन्सी