काठमाडौँ । कश्मीर आक्रमणको १५ दिनपछि इन्डियाले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।
इन्डियन समयअनुसार बुधबार राति १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ’अपरेसन सिन्दुर’अन्तर्गत इन्डियाले हवाई आक्रमण गरेको हो।
इन्डियाको दाबीअनुसार यी तिनै स्थान हुन्, जहाँबाट इन्डियामा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो।
इन्डियन पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ। हजारौँ घाइते भएको अनुमान विभिन्न संचारमाध्यमले प्रशारण गरिरहेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।
पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएिपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले इन्डियाले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।
समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ– प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर ‘अपरेसन सिन्दुर’को निगरानी गरे।
यसैबीच इन्डियन सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ।
अर्कातर्फ स्रोतहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार यो एक संयुक्त सैन्य अपरेसन थियो, जसमा इन्डियन सेना र वायुसेनाले संयुक्त रूपमा सटिक स्ट्राइक हतियार प्रयोग गरेका थिए।
समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ– इन्डियन सेनाले पहलगाम आतंकवादी हमलाको लागि जैश–ए–मोहम्मद र लश्कर लुक्ने ठाउँलाई प्रहार गर्ने उद्देश्यले लक्ष्य छनोट गरेको थियो।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इन्डियनले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गरेका छन्।
ख्वाजा आसिफले बीबीसी उर्दुसँग भनेका छन्, ‘हेर, उनीहरू (इन्डिया) ले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्ष्य गरिएको दाबी गरिरहेका छन्। म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु– सबै पक्षले आफैँ आएर हेर्नुहोला, यी आतंकवादी लुक्ने ठाउँ हुन् कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिद पनि परेका छन्।’
‘एक बच्चा सहिद भएका छन् । एक महिला सहिद भएकी छन्। मसँग सहिदको पछिल्लो तथ्यांक छैन, तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै निशाना सर्वसाधारणमाथि थिए।’
पाकिस्तानी सेनाले इन्डियाको आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
अहिले विश्वभरका संचारमाध्यममा घटनाका बारेमा फरक फरक विवरण आएपनि इन्डियाको आक्रमणले सर्वसाधारण नागरिक निशानामा परेका तथ्यहरु बाहिर आउन थालेका छन् ।
एजेन्सी