पोखरा । नेपाली सनातन धर्मलाई विवादमा ल्याउन र पोखराको पर्यटन क्षेत्रलाई असर पुर्याउने हेतुले योजनाका साथ लागेका विवादित धर्मगुरु विजय भण्डारी (विजय कृष्णमूर्ति) ले धर्मका लागि आफू अधर्म पनि गर्न तयार रहेको बताएका छन् ।
पोखरा लेकसाइडमा गर्ने भनिएको महायज्ञ’बारे आज आइतबार बोल्दै उनले पत्रकारलाई भेला गरेर भने,‘म जे पनि गर्न तयार छु, चाहे त्यो अधर्म काम किन नहोस ।’
‘जस्तोसुकै परिस्थिति आएपनि यो यज्ञ रोकिनेवाला छैन’, उनले भने, ‘जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुनेछैन । यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ ।’ उनले अगाडि भने, ‘धर्मका लागि अधर्म पनि गर्न पर्छ भने विजय कृष्णमूर्ति तयार छ ।’
उनले काम गर्ने क्रममा रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान आफू तयार रहेको पनि बताए । यस्तै उनले रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने पनि बताए ।
यस्तै पोखरामा हुने महायज्ञमा कुनै वातावरण प्रदूषण नहुने दाबी गर्दै महायज्ञस्थलको हल अत्याधुनिक हुने र कुनै ध्वनि बाहिर ननिस्कने बताए ।
यस्तै उनले लेकसाइडमा २५ हजार भन्दा बढी भक्त बाहिरबाट ल्याउने भन्दै कार्यक्रम सफल बनाइने बताए ।
रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले कोटिहोम सञ्चालनका लागि काटेको हो । पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ९ वटा ठुला रुख नपलाउने गरी ठुट्याइएको छ ।
विजयका विगत
गुल्मीको घुर्कोटवस्तु १ मा २०४४ साल असार १ गते जन्मेका विजय भण्डारीले आफ्नो प्रारम्भिक शिक्षा जन्मस्थान गुल्मीबाटै प्राप्त गरे ।
उनका बुवा मनिराम माओवादीका एरिया कमिटी सचिव थिए । बाबुको पदचिन्हमा हिँड्दै विजय पनि माओवादीनिकट अखिल क्रान्तिकारीमा संलग्न भए । तर, प्रहरीको निशानामा परेपछि ८ कक्षा पढ्दै गर्दा गाउँ छोडेर काठमाडौं आएका थिए ।
काठमाडौंको थानकोटमा रहेको अरविन्द योगा मन्दिर आश्रममा बसेर माउन्ट भ्याली विद्यालय पढ्न थाले । उनले कति पढेका हुन्, कसैलाई थाहा छैन ।
बुवा मनिरामलाई माओवादीले आर्थिक हिनामिना गरेको आरोपमा पार्टीबाट निस्काशन गर्दै गर्दा यता छोरा पनि आश्रमबाट निकालिए । उनले गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि आश्रमबाट लखेटिएका थिए ।
२०६८ बाट भण्डारीे गेरुवस्त्र धारण गरेर पुराण भन्न थाले । २०६८ वैशाखमा उनले ५ लाख रुपैयाँ जुटाएर कलंकीमा भागवत पुराण लगाए । त्यसबाट राम्रै आर्थिक उपार्जन भएपछि उनले यसैलाई आफ्नो ‘व्यवसाय’ बनाउँदै आएका छन् । विभिन्न स्थानमा महायज्ञ, धानाञ्चल, कोटिहोम आदि नाममा धार्मिक अनुष्ठानको व्यवस्थापन गर्दै त्यसमा उठेको ठूलो दान रकम कुम्ल्याउने गर्छन् ।
२०६८ सालमै उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नाम संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे । आफ्नो नाम आफैंले बदलेर ‘विष्णु प्रपन्नाचार्य महाराजजी’ कहलाए ।
उनले आफ्नो संस्थामार्फत अमेरिकामा धार्मिक कार्यक्रम गर्ने भन्दै पैसा उठाउन थाले । धार्मिक अनुष्ठानका लागि नेपालबाट १०८ जना अमेरिका लैजाने भन्दै उनले जनही १ लाख रुपैयाँ उठाउने अभियान चलाएका थिए । कूल खर्च ५ लाख ५० हजार लाग्ने बताएर सुरुमा पेस्कीस्वरुप १–१ लाख उठाउन सफल भए ।
तर, अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नरहेको थाहा पाएपछि पैसा दिनेहरुले फिर्ता माग्न थाले । केहीलाई उनले चेक दिएर थुम्थुम्याए । तर, खातामा पैसा नभएपछि पीडितहरु प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म धाउन थाले । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा ३३ जनाले एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा भण्डारीविरुद्ध उजुरी दिएका थिए ।
अन्ततः २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले विजयलाई दसैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गर्यो। भण्डारीसँगै उनकी श्रीमती सुलोचनाविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा २०७१ असोज १ गते मुद्दा दायर भयो । एक जनाले ३ लाख रुपैयाँ सुलोचनाको नाममा पठाएकाले उनी पनि फन्दामा परेकी थिइन् ।
यो मुद्दामा २०७३ साल मंसिर ६ गते जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीले फैसला गर्दै विजय भण्डारीलाई दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको सजाय सुनाएको थियो ।
फैसला हुँदासम्म विजय २ वर्ष २९ दिन थुनामा बसिसकेका थिए । बाँकी रहेको ३ महिना र १ दिन सजाय भोगेर विजय २०७३ साल चैत १४ मा जेलमुक्त भए । पत्नी सुलोचनालाई तीन लाख रुपैयाँ जरीवाना र ३ महिना कैद सजाय सुनाइयो । भण्डारीले ठगेको पैसा तिर्ने क्रममा सुलोचनाको माइती घर नै लिलाम भएको थियो ।
जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गर्न पाउने हकको प्रयोग पनि भण्डारीले गरेका हुन् । उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर, उच्चले पनि २०७५ मंसिर ११ मा जिल्लाकै आदेश सदर गरेपछि उनी अदालतबाट ‘ब्रान्डेड ठग’ का रुपमा स्थापित भए । पछिल्लो समय आफूले उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको उनको दाबी छ ।
धर्मलाई व्यवसाय बनाएका भण्डारीले जेल सजाय भुक्तानीपछि पनि त्यही कर्म जारी राखे । धार्मिक अनुष्ठानमा आफैं वाचक वा आयोजक भएर उठेको रकमको यति प्रतिशत पाउने भन्ने पहिल्यै सम्झौता गर्छन् । तर, थोरै रकम छोडेर बाँकी सबै आफैं कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ ।
नेपाल प्रेस डटकमका अनुसार,, विजयको पारिवारिक जीवन पनि विवादित छ । नजिकबाट चिन्नेहरु भण्डारीले बहुविवाह गरेको बताउँछन् । एक श्रीमती सुलोचना हुन्, जो श्रीमानको हर्कतले आफैं घरको न घाटको भएकी छन् । अर्की पत्नी राई थरकी हुन् । उनी कतै पनि सार्वजनिक भएकी छैनन् ।
गत वर्ष भदौमा पशुपति कोटिहोम आयोजना गरेर चरम विवादमा परेका व्यक्ति हुन्, विजय ।
धार्मिक रुझान भएको देशमा भक्तको मनोभावनालाई दुरुपयोग गर्दै धनार्जन गर्न खप्पिस भएका विजय भण्डारीले पशुपतिनाथ मन्दिर परिसरमा लगाएको कोटिहोमको मुख्य उद्देश्य पनि आर्थिक उपार्जनभन्दा अर्को देखिएको थिएन ।
अहिले उनले पोखराको पर्यटन क्षेत्र धमिल्याउन कथित होमहोमादी आयोजना गर्न खोजेको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।
यस्तो कदम तुरुन्त सरकारले रोक्नुपर्ने पर्यटन व्यवसायीको माग रहेको छ ।
तेस्रो मुलुकका पर्यटक नेपालमा घुमफिर र बस्न रुचाउने स्थल पोखरा हो । यही स्थानमा विजयले किन होम गरेर कोलाहल मच्चाउन खोजे शंका उत्पन्न भएको छ ।
नेपालमा पछिल्लो पटक इन्डियाले धर्मको नाममा धेरै प्रकारका लगानी र चलखेल गर्दै आएको छ । कतिपयले यतातर्फ पनि शंका व्यक्त गरेका छन् ।