काठमाडाैँ । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
आजको दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ । यो दिनमा बालबालिकालाई अक्षर आरम्भ गराउने चलन रहेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।
आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्दछन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ- आफ्ना कला- साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा- आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व रहँदै आएको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ ।
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने चलन पनि रहेको छ ।
पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।
काठमाडौँमा नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरी धाराको नील सरस्वती, ललितपुरको लेले लगायत देशभरिका सरस्वती मन्दिरमा मेला लाग्ने गर्दछ । साथै विद्यालयहरूमा विषेश कार्यक्रमसहित सरस्वतीको पुजा अर्चना गरिदैछ ।