काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदै छ ।
बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्दै छ ।
सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यस्तै, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । आधिवेशन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ- आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१”, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रिय सभाको बैठकमा उल्लेखित कार्यसूची बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । दुबै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् ।
संसद्मा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।