कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि- २० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो ।
योसँगै एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख पुरस्कार पाएको छ भने सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख हात पार्यो ।
जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ एपिएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई/ दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन् । यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपिएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् ।
एपिएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५/ २५ हजार पुरस्कार पाएका छन् ।
यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।