काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालय मै बोलाएर राजीनामा नदिए पक्राऊ गर्ने धम्की दिएको जानकारी प्राप्त भएको छ। प्राप्त स्रोतका अनुसार हतियार सहितका प्रहरी र राष्ट्रिय खेलकुद परिषद्का जिम्मेवार पदाधिकारिको उपस्थितिमा उनलाई मन्त्रीले राजिनामा पत्रको खाका थमाउँदै हस्ताक्षर नगरे त्यहीँबाट पक्राऊ गरेर थुन्ने धम्की दिएका हुन्।
स्रोतका घटना बुधबार दिउँसोको हो। मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का प्रमुख सल्लाहकार तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनका दाजु सिद्धि व्यञ्जनकार, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताका अतिरिक्त एकजना हतियार सहितका प्रहरी डीएसपी समेतको उपस्थितिमा मन्त्री पोखरेलले नेम्वाङलाई राजीनामा पत्र पास सही गर्न दबाब दिएका हुन्। "यो राजीनामापत्रमा सही गर्नुहुन्छ कि यही डीएसपी साहब हुनुहुन्छ उहाँको जिम्मा लगाएर तपाईँलाई पठाउनुपर्ने हो?", मन्त्री पोखरेलले यसरी धम्क्याएको स्रोत बताउँछ।
छलफल गर्न भन्दै बोलाएर मन्त्रालय परिसरमा हतियारसहितका प्रहरीसमेत परिचालन गरि मन्त्री स्वयंले नै यस्तो धम्की दिए पनि नेमाङले आफू राजीनामा नदिने अडान राखेका थिए। आफ्नो अडानबाट नेम्वाङ टसमस नभएपछि अन्तिममा मन्त्री पोखरेलले अल्टिमेटम दिँदै भने, " तपाईँलाई तीन दिनको म्याद भो। तीन दिनभित्र राजीनामा दिनुस् नत्र ठिक हुँदैन।" त्यसको जवाफमा नेम्वाङले एन्फामाथिको विषय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग समेत सम्बन्धित भएकाले आफूले तत्काल राजीनामा दिन नमिल्ने जानकारी दिएका थिए।
राजीनामा दिन दबाब दिएपछि अध्यक्ष नेम्वाङले यो विषय फिफा र एएफसीसँग समेत जोडिएको विषय भएकाले आफूले त्यसै राजीनामा दिन नमिल्ने भन्दै आफूलाई थुन्ने भए थुन्न चुनौती दिएको स्रोत बताउँछ। त्यसो त, नेम्बाङलाई बालेन सरकारका मान्छेले यस्तो धम्की दिएको यो पहिलो पटक भने होईन। लगभग एक महिना अघि नै प्रधानमन्त्रि बालेन्द्र शाहका राजनितिक सल्लाहाकार कुमार बेनले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई फोन गरेर, "कहाँ हो, राजिनामा दिने कि पक्राउ गर्न पुलिस नै पठाउनु पर्ने हो?" भन्दै धम्काएको चर्चा एन्फामा विगत तीन सातायता व्याप्त छ।
यद्यपि, आजको घटनाबारे मन्त्री पोखरेलको सचिवालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरीसकेको भने छैन।
यसैबीच, घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्न एन्फा अध्यक्ष नेम्वाङले भोलि बिहीबार पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार पत्रकार सम्मेलन भोलि दिउँसो १ बजे काठमाडौंको कालिमाटी नजिकै रहेको होटल क्राउनमा आयोजना हुँदैछ।
स्मरण रहोस्, फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै जुन २५ देखि एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। निलम्बनपछि नेपाली फुटबल गतिविधि प्रभावित हुँदै आएको छ। फिफाको आधिकारिक विवरणमा भने पंकज नेम्वाङलाई एन्फाको अध्यक्षका रूपमा अझै पनि उल्लेख गरिएको छ।