काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले जितका साथ प्रतियोगिता सुरुवात गरेको छ ।
शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका मिलन्थाले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
तेस्रो विकेटका लागि हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए । त्यसअघि जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमाएकोमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भएका थिए ।
पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोलि आउट भएका थिए् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गराएका हुन् ।
विराटनगरका लागि क्रिस सोल र प्रतिस जिशीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।
विराटनगरका ओपनर गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट समातिए ।
अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा सहित ३ विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान २ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए ।
विराटनगरले सुरुआत भने राम्रो गर्न सकेन। किशोर महतलाई दोस्रो बलमै चौका प्रहार गर्दै आक्रामक सुरुआत गरेका लोकेश बम ६ रनभन्दा अगाडि बढ्न सकेनन्।
उनलाई दोस्रो ओभरको पहिलो बलमै ललितनारायण राजवंशीले बोल्ड गरे। त्यसपछि ओमानी ब्याटर अकिब इलियासले ओपनर मार्टिन गप्टिलसँग ४७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सलाई उकास्ने प्रयास गरेका थिए। तर, नवौं ओभरको दोस्रो बलमा उनी मोहम्मद मोहसिनबाट एलबिडब्यु आउट भए।
आउट हुनुपूर्व उनले १८ बलमा एक चौकासहित १५ रन प्रहार गरे। उनी आउट भएसँगै विराटनगरले पुनः ब्याटिङमा संघर्ष गर्न थाल्यो। क्यानडाका कप्तान निकोलस किर्टन नौ रनमा बोल्ड भए। तर, गप्टिलले इनिङ्स सम्हाल्दै ३६ बलमा अर्धशतक पूरा गरेपछि विराटनगरले बलियो स्थितिमा पुग्ने संकेत गरेका थिए।
तर, एनपिएलको पहिलो अर्धशतक प्रहार गरेका उनी १४औं ओभरको अन्तिम बलमा लङ अनमा तैनाथ कप्तान अनिलबाट ५५ रनमा क्याच आउट भए। त्यसपछि पुनः विराटनगरले ब्याटिङमा संघर्ष गर्न थाल्यो। बसिर अहमद सात, राजेश पुलामी एक र प्रतीश दुई रनमा पेभिलियन फर्किएसँगै जनकपुर खेलमा पुनरागमन गर्न सफल भयो।
तल्लो क्रमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र क्रिस सोलले ब्याट चलाउन नसक्दा विराटनगर १९ ओभरमा १२७ रनमै अलआउट हुन पुग्यो।
जनकपुरका ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चिए। किशोर महतो र हर्ष ठाकरेको नाममा समान दुई विकेट रह्यो। यस्तै, मोहम्मद महसिन र बेन मिकेले एक विकेट आफ्नो नाममा टिपाएका थिए ।
लिगमा आइतवार कुनै खेल हुनेछैन । उप निर्वाचनका कारण आइतवार हुनै खेल नहुने हो । सोमवारबाट भने लिगमा २ खेल हुनेछन् ।
सोमवारको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुनेछ ।
तस्बिर- नेपाल फोटो लाइब्रेरी