काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ ।
महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सेवा सुरु गर्न लागेको हो।
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ ।
आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सेवा दिइने छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए।
कामपाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महाबौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चाबहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ ।
त्यस्तै, महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने जनाएको छ ।