धनुषा । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ ।
मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।
यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रूखमुनि वनभोज आयोजना गरिन्छ ।
आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रूखमुनि वनभोज गर्छन् ।
यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ ।
पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रले बताए ।
खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एका बिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रूखमुनि सहभोज गरिने परम्परा रहेको छ ।
सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन तथा नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका छन् ।
मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ ।