काठमाडौं । दसैंको बेला घर जान टिकट किन्न लाम लाग्नेहरु बुकिङ काउन्टर पुग्ने जतिले हदैसम्मको सास्ती खेप्न थालेका छन् ।
दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका हुन् ।
काठमाडौंबाट अन्य समयमा दैनिक १३ देखि १५ सय सार्वजनिक सवारीसाधन बाहिरिन्छन् । ती सवारी साधनले करिब ३० देखि ४० हजार यात्रुलाई सेवा दिने क्षमता राख्छन् । तर, घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन् । निजी सवारीसाधन प्रयोगकर्ता थोरै छन् ।
टिकट बुकिङ भए पनि यात्रुले बुकिङमा सवारीसाधनको नम्बर पाएका छैनन् । व्यवसायीले यात्रुसँग डिलक्स र सुपर डिलक्स भनेर यातायात व्यवस्था विभागले तोकेभन्दा २० देखि ४० प्रतिशत बढी भाडा लिएका छन् । घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ । सीमित सिट संख्या देखाउँदै व्यवसायीले केही दिनमै बुकिङ बन्द गर्न खोजको जस्तो देखिँदा यात्रु मार्कामा परेका छन् ।
टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन् । गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन् ।
टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो ।
बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए । कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन । टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो ।
सवारी साधनको स्तरअनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन् । दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ ।
यात्रुका गुनासो सुनुवाइका लागि यातायात व्यवस्था विभागले असोज १० देखि १८ गतेसम्म राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गरिने तयारी गरेको थियो । तर, टिकट बुकिङ आइतबारदेखि नै सुरु भइसकेको छ ।
यात्रुका गुनासो सुन्ने निकाय गोंगबुबाहेक अन्य स्थानमा राखिएको छैन । विभागको स्वयम्भू, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाला, चावहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सहायता कक्ष स्थापना गर्ने योजना छ ।
टिकट नपाउने यात्रुको मनोविज्ञान बुझेका व्यवसायीले यसको फाइदा उठाएर महँगोमा बेच्छन् । क्षमताभन्दा कम बुकिङमै सकिएको बहाना बनाएर व्यवसायीले कालोबजारीमा टिकट बेच्न थाल्छन् । यातायात व्यवस्था विभागको यात्रु सहायता कक्षमा गुनासो राख्न यात्रु जाँदैनन् । चुपचाप बढी मूल्यमा टिकट किन्छन् ।