काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेकाे एक आदेशमा साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा राेक लगाएकाे हो । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।
सोमबार बिहानदेखि लागू हुनेगरी सुरक्षा व्यवस्था थप कडा पारेको छ । चितवन जिल्ला सुरक्षा समितिकाे बैठकले आइतबार साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी सुरक्षा व्यवस्था थप कडा पारेको जानकारी दिएको छ ।
आइतबार जारी गरेकाे आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ काे (३) ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हाे । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने उल्लेख गरिएकाे छ ।
तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ । ऐन अनुसार यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्नेछ ।
पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।
सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्याली र कोणसभा भएको थियो।