काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ ।
सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो ।
धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ हुँदै आएको थियो । काठमाडौँ जिल्ला तर्फको जग्गाको मुआब्जा सम्बन्धी समस्याको समाधान यसअघि नै भइसकेको छ ।
सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भइसकेको जानकारी दिनुभयो ।
सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताउँदै उहाँले अबको एक महिनाभित्र सम्झौता हुने जानकारी दिनुभयो । मुआब्जाको समस्या समाधानसँगै अवरोधको रूपमा अब कुनै पनि ‘इस्यु’ बाँकी नरहेको उहाँले स्पष्ट पार्नुभयो । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम सम्पन्न हुनेछ ।
प्रमुख थापाले निर्माण कम्पनी छनोट भइसकेको जनाए पनि कम्पनीको नाम बताउन चाहनु भएन । छनोट भएका कम्पनीलाई आशयसहितको पत्र पठाइसकिएको जानकारीसमेत उहाँले दिनुभयो ।
“निर्माण सम्झौतापछि कम्पनीले आफ्ना क्याम्प राख्छन् र फिनिसिङको काम गर्छन् तथा तिहारपछि निर्माण कम्पनी फिल्डमा गएर काम सुरु गर्नेछन्”, उहाँले भन्नुभयो, “तर सुरुङमार्ग निर्माणको मुख्य काम सुरु हुन अझै छ महिना लाग्नेछ ।”
विस्फोटक पदार्थ नहुँदा सुरुङमार्गको निर्माण कार्य सुरु हुनमा केही समय ढिलो हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले स्ष्पष्ट पार्नुभयो भनेर यो समाचार आजको गोरखापत्रमा प्रकाशित भएको छ ।