काठमाडौं । बिहिबारदेखि परेको अविरल वर्षाका कारण देशभर ४३ जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् ।
बाढी पहिरोमा २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन् । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ललितपुर र भोजपुरमा पाँच/पाँच जना रहेका छन् । यस्तै, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा तीन/तीन जना रहेका छन् भने धादिङ, झापा, सिन्धुलीमा दुई/दुई जना रहेका छन् ।
मृत्यु हुनेमा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पाका एक(एक जना रहेका छन् । बाढी पहिरोमा फसेकाहरूमध्ये एक हजार एक सय चार जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएकाहरूमा महोत्तरीका पाँच सय, रौतहटमा दुई सय, काठमाडौंमा १ सय ८५, सर्लाहीमा सय, सिन्धुलीमा ७०, सप्तरीमा २५, उदयपुरमा १०, ललितपुरमा ८, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक/एक जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो ।