काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २१ जनाको मृत्यु भएको छ । अझै आठ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् ।
सात जनाको भने शकुसल उद्धार गरिएको छ । काठमाडौँमा र खोटाङमा तीन÷तीन जना, भोजपुर, काभ्रे, ओखलढुंगा र झापामा दुई÷दुई जना, रामेछाप, इलाम, मकवानपुर, सिन्धुली, धादिङ, ललितपुर, र पर्सामा एक-एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमान्डुमा एक(एक जना गरी आठ जना बेपत्ता भएका छन् । अविरल वर्षले जनजीवन प्रभाति भएको छ भने ६ हजार भन्दा धेरै नागरिक विस्थापित भएका छन् ।
सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ । गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ ।
देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिब उमाकान्त अधिकारीले जानकारी दिए ।
गृहमन्त्रालयले स्थानीय प्रशासन, प्रदेश र स्थानीय सरकार, रेडक्रस लगायतका संघ संस्था लगायतसँग समन्वय गरि उद्धार र राहतको कामलाई प्रभावकारी बनाएको दाबी गरेको छ ।