जनकपुर । बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा पूरै जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकी नगरका अधिकांश क्षेत्र पस्दा जलमग्न भएका हुन् ।
वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार (चौक), मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएको छ भने नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ ।
त्यस्तै करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नव निर्मित भवनको आकस्मिक कक्षमा समेत पानी जनमेको छ । आकस्मिक कक्षको छत चुहिएका कारण पानी जमेको हो ।
यसैगरी लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलमग्न भएको हो ।
जनकपुर मिथिलाको प्राचीन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । लगातार १४ घण्टा भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ ।