काठमाडौं, २६ असार । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच गर्ने कार्य अहिलेपनि जारी नै रहेको जिकिर गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको दावी गर्नुभयो ।
नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न उठेको बताउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नति गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो ।
साक्षात्कारमा मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको दावी पनि गर्नुभयो । उहाँले अगाडि भन्नुभयो,‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’
काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेका उहाँको भनाइ थियो । तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर आफूले नभन्ने बताउँदै उहाँले भएका ल्याबहरु सञ्चालन गर्न जनशक्तिको अभाव रहेको जिकिर गर्नुभयो ।
उहाँले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै उहाँले निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो ,‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन । र, अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’
अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालको दावी थियो । परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उहाँको भनाइ छ । उहाँले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोख्नु भयो ।
भारतबाट मात्रै नभएर भूटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालको भनाइ छ । सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि विश्वास पनि उहाँले दिलाउनुभयो ।
चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्तर्गतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
विषादी परीक्षण रोक्न भारतीय दुतावासले पत्र पठाएको भन्ने सन्दर्भमा उठाईएको प्रश्नमा मन्त्री खनालले भन्नुभयो,‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो । हामीलाई पनि बोद्यार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लु.टि.ओ.अनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दापनि परराष्ट्रले दिनुपर्छ ।’
एक फरक प्रसंगमा मन्त्री खनालले विप्लव समूह सशस्त्र हिंसामा आउँछ भने सरकराले पनि त्यस्तै जवाफ दिने चेतावनी दिनुभयो । तर, यदि वार्तामा आउन चाहन्छ भने सरकारले वार्ताको लागि ढोका खुल्ला राख्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।